कम्पनी ऐनका यी बुँदामा गरियो संशोधन, १० लाखसम्मको सेयर कारोबार गर्दा नगदै गर्न सकिने

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँट, किनबेच, लगत, चुक्तालगायत व्यवस्थापनमा एक दर्जनभन्दा बढी संशोधन गरेको छ । कम्पनी ऐन २०६३ को दफा १६ तथा दफा १७८ ले दिएको अधिकार प्रयोग गरी यस्तो संशोधन गरेको हो ।

अब प्राकृतिक व्यक्तिले १० लाख रुपैयाँभन्दा कम मूल्यको सेयर खरीद बिक्री गर्दा नगदै कारोबार गर्न सकिने व्यवस्था भएको छ । बैंक स्टेटमेन्ट नभएको खण्डमा पनि अभिलेख स्वीकार गर्न सकिने कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

सेयर बापतको रकम सम्बन्धित कम्पनीको बैंक, खातामा जम्मा गर्दा सेयरधनी स्वयम्को नामबाट दाखिला भएको हुनुपर्ने छ । तर, सेयरधनी स्वयम्ले दाखिला नगरी एकाधरको परिवारको सदस्यबाट दाखिला भएको खण्डमा नाता खुल्ने कागजात र सम्बन्धित व्यक्तिको स्वघोषणा अनिवार्य गरिएको छ ।

१० भदौमा बसेको कम्पनीको बैठकले नयाँ व्यवस्थाअनुसार अब १० लाखभन्दा बढीको पुँजी भएको सेयरधनीले कम्पनीलाई सेयर बापतको चुक्ता रकम दाखिला गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत् चुक्ता गर्नुपर्छ ।

सेयरलागत जारी गर्दा चुक्ता पुँजीको रकम १० लाखभन्दा कम रकम कम्पनीको प्रयोजनका लागि छोटो समयका लागि झिकिएको खण्डमा कारणसहित र खर्च भएको भए लेखापरीक्षण विवरणसहित चुक्ता पूँजीको अभिलेख स्वीकार गरिने उल्लेख छ । नयाँ व्यवस्थाअनुसार कम्पनीको ओभर ड्राफ्ट खातामा रकम जम्मा गर्दा बैंक भौचर र स्टेटमन्ट खुलाएरै प्रयोजन उल्लेख गरिएको हुनुपर्ने र त्यसलाई बैंकले प्रमाणित गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

१८ भदौ २०८० पछि स्थापना भएका कम्पनीहरूले प्रथम वार्षिक साधारण सभा गर्नुअगाडि नै अनिवार्य रुपमा सेयर बाँडफाँट गरी कबुल गरेको सेयर रकमको पूरा वा आंशिक रुपम चुक्ता गरी सेयर लगत अभिलेख गराउनुपर्ने व्यवस्था भएको हो । यसरी सेयर लगत प्रमाणित गरेर लगेपछि मात्र कम्पनीको अद्यावधिक लगायतका काम कारबाही गर्न पाइने व्यवस्था गरिएको छ ।

२०७३/०७४ भन्दापछिको लेखा परीक्षण प्रतिवेदनमा चुक्ता पुँजी उल्लेख भएको तर सेयर लगत नभएको कम्पनीमा सो पुँँजीबजारको प्रमाण पेश गरी सेयर लगत अभिलेख गरेर मात्रै अब कम्पनीको अन्य कागजातको अभिलेख स्वीकार गरिने व्यवस्था गरिएको छ ।

कम्पनीको सेयरबापतको रकम कम्पनीको बैंक खातामा जम्मा गर्दा सेयर कल गरेको मितिदेखि सेयर बाँडफाँट गरेको मितिभित्र गर्नुपर्ने प्रावधान रहेको र सोही अवधिको बैंक स्टेटमेन्ट मात्र चुत्ता प्रमाणका लागि ग्राह्य हुने रजिष्ट्रार कार्यालयले जनाएको छ ।

अबदेखि कम्पनी स्थापना गर्दा सेयरधनीले आफूले कवुल गरेको सेयर वा जगेडा सेयर खरिद वापतको रकम चुक्ता गर्दा वा सेयर खरिद गर्दा बिक्रीको कारोबारमा बिक्रेतालाई सेयर रकम भुक्तानी गर्दा कार्यालयमा पेश गर्ने बैंक स्टेटमेन्टमा सम्बन्धित बैंकको छापसहितको प्रमाणित भएको स्टेटमेन्ट पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयले बकसमार्फत सेयर स्वमित्व हस्तान्तरण गर्दा अपनाउनु पर्ने विधि पनि परिमार्जन गरेको छ ।

अबदेखि बकसपत्र मार्फत सेयर हस्तान्तरण गर्दा स्थानीय तहको नाता प्रमाणित अनिवार्य गरिएको छ । एकाघरको सगोलको जेष्ठ सदस्यले मात्रै आफूभन्दा साना सदस्यलाई सेयर बकस गरीदिन पाउने छन् । कागजमा बकसमा सेयर विवरण खुलाउनु पर्नेछ भने यस अघि नै निर्णय भएको तर काम सम्पन्न हुन नसकेको हकमा भने ४५ दिन भित्र पुरानै नियमानुसार गर्न सकिने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

खारेजीमा जाने कम्पनीको हकमा फिर्ता हुने रकम पनि बैंकिङ प्रणालीमार्फत नै सेयर धनीलाई फिर्ता गने व्यवस्था पनि नयाँ संशोधनमा छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स