काठमाडौं । दशैं लागेसँगै सुन बजार खचाखच हुन थालेको छ । कोरोना महामारीका कारण लामो समय बन्द र त्यसपछि सुस्त गतिमा चलेको सुन बजार दशैं लागेपछि दैनिक ४० किलोसम्म बिक्री हुने अवस्थामा पुगेको छ ।
बजारमा सुनको माग बढी भएपनि सुनको प्रर्याप्तता भने नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए । ‘बजारमा पछिल्लो समय सुनको माग ह्वात्तै बढेको छ,’ उनले भने ‘सोहीअनुसारको पूर्ति नहुँदा समस्या छ ।’
पुरानो बिक्रीमा आएको सुन र व्यापारीहरूसँग शोरुममा रहेको गरगहनाको रुपमा रहेको सुनले बजार धानेको उनले गुनासो गरे । बजार सहज छैन, कहिले ग्राहक हुँदैनन् कहिले सुन प्रर्याप्त हुँदैन । जसरी पनि व्यवसायी नै मारमा पर्ने गरेको उनले बताए ।
यदि सुनको प्रर्याप्तता भएको भए हामीले मागअनुसार सुन बिक्री गर्न सक्ने थियौ । ‘हामीले जसोतसो बजार धानेका छौं तर, बजारको मागलाई धान्न सक्ने सुन भने हामीसँग छैन ।’ सरकारी कोटाको सुनले बजारलाई अहिले आधा पनि धान्न सक्ने अवस्था छैन ।
वार्षिक १ सय अर्बको कारोबार हुने सुन बजार व्यवस्थित नहुँदा अर्थात यो बजार सञ्चालन सम्बन्धी कानुन नबनाउँदा हुकुमी शासनबाट सुन बजार सञ्चालनमा भएको उनले बताए ।
‘अहिलेसम्म सुनको कारोबार गर्ने कुनै कानुन नबनेको भन्दै सुन बजार हुकुमी शासनबाट सञ्चालन हुँदै आएको छ,’ उनले भने ‘‘सुन व्यवसायसम्बन्धी कानुनै छैन ।’ ‘सुन कारोबार सम्बन्धी अहिलेसम्म कुनै ऐन नबन्दा हामीले गरेको व्यावसाय वैधानिक हो कि अवैधानिक त्यो छुट्याउन गाह्रो भएको छ ।’ सरकारले यो व्यवसाय सञ्चालन सम्बन्धि ऐन बनाएर यति ठूलो कारोबार भएको व्यवसायलाई सदाको लागि व्यवस्थित गर्नुपर्ने उनले बताए ।
‘सुन व्यवसाय राज्यको पनि आम्दानीको ठूलो स्रोत हो,’ उनले थपे ‘सरकारले यो सुनको कारोबारबाटमात्रै अर्बौ रुपैयाँ कमाउने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा सुनको कारोबारबाट राज्यले १३ अर्ब राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा भने कोरोना महामारीका कारण बजार शिथिल हुँदा ६ अर्ब रुपैयाँमामात्रै राजस्व संकलन गरेको छ ।
‘त्यतिमात्रै होइन यो क्षेत्रमा रोजगारीको पनि ठूलो अवसर छ,’ उनले भने ‘हामीलाई २ लाखभन्दा बढी कालिगढको आवश्यकता छ ।’ अहिले भएको करिब ७० हजार कालिगढ यो बजारको लागि प्रर्याप्त होइन । प्यान्डामिकको कारण बजार बन्द भएपछि कालिगढहरू वैकल्पिक काममा लागे । यसले अहिले हामीलाई अडरअनुसार समयका गहना बनाएर दिन पनि गाह्रो अवस्था आएको छ ।
सुन उद्योगलाई पर्यटन उद्योगसँग जोड्नु पर्ने
सुन बजार ठूलो छ । विदेशमा बसेका नेपालीहरूबाट पनि गरगहनाको माग आउने गरेको छ । विदेशमा बस्ने नेपालीले मात्रै होइन सुन उद्योगलाई पर्यटन उद्योगसँग जोड्न सकियो भने यसबाट देशले अझ बढी फाइदा लिन सक्ने उनले बताए ।
‘पर्यटन उद्योगमा पनि नेपाली सुनका गरगहनालाई जोड्न सक्नुपर्छ,’ उनले भने ‘ नेपाली मौलिकता झल्कने गरगहनाको डिजाइनलाई विदेशी पर्यटकले मन पराउने छन् । उनीहरूले नेपाल घुम्न आउदा चिनोको रुपमा नेपाली मौलिक गरगहना लैजान सक्ने पनि उनले बताए । ‘यसले गरगहनाको व्यापारलाई प्रमोशन र प्रवद्र्धन गर्नेछ,’ उनले भने ।
व्यापारीलाई सुनको कारोमारमा पनि नाफा लिन पाउनु पर्ने
नेपाली बजारमा सुनका गरगहना बिक्री गर्दा खासै फाइदा नहुने अर्थात ज्याला र जर्ती बाहेक थप नाफा नलिने अभ्यासका कारण अहिले पनि त्यसैको भरका व्यावसाय गर्न परिरहेको गुनसो पनि उनले गरे । ‘दृष्य रुपमा सुनको कारोबारबाट नाफा लिन नपाएपछि अदृष्यबाट लिने नाफाले व्यवसायको पारदर्शितामा प्रश्न उठाएको उनले बताए ।
‘उनले भने ‘सुनमा पनि यति प्रतिशतसम्म अर्थात यति रकमको सीमासम्म यति नाफा लिन पाउने भन्ने स्पष्ट व्यवस्था भइदिएको भए राम्रो हुने थियो ।’ आखिर व्यवसाय त्यति सञ्चालन गर्न सकिदैन, गरगहना बनाउने बेलामा जसरीपनि मिलाएर व्यापारीले नाफा निकालेकै हुन्छन् । तर, सरकारले नै यतिसम्म लिन पाउने भनि व्यवस्था गरिदिएमा योव्यवसाय अझ पारदर्शी हुने समेत उनले सुझाए ।
सुनमा पनि पुँजीगत लाभकर लगाउनु पर्ने
अध्यक्ष शाक्यले सुनमा पनि पुँजीगत लाभकर लगाउनु पर्ने बताएका छन् । सुनमा गरिएको लगानीबाट पनि अन्य कमोडिटीमा जस्तै अतिरिक्त मूल्य प्राप्त हुने गरेकोले यसमा पनि पुँजीगत लाभकर लाग्नु पर्ने धारणा उनले राखेको हुन् ।
सामान्यतया कुनै पनि वस्तु वा सम्पत्तिको मूल्य बढेर बिक्री गर्दा प्राप्त हुने अतिरिक्त मूल्य पुँजीगत आम्दानी हो । सेयरलगायत घरजग्गा तथा अन्य सम्पत्तिको बिक्रीबाट हुने अतिरिक्त मूल्यमा पुँजीगत लाभकर लाग्ने र सुनमा यो कर नलाग्ने किन ? उनले प्रतिप्रश्न गरे ।
‘यदि सुन बिक्री गर्दा आफूले तिरेको मूल्यभन्दा अतिरिक्त मूल्य आउँछ भने बिक्री गर्दाको अवस्थामा पुँजीगत लाभकर लगाउनु पर्छ,’ उनले भने ‘घरमै रहँदा यो लाग्दैन तर बिक्री गर्दाको अवस्थमा भने कर लगाउँदा सरकारको राजस्वमा समेत टेवा पुग्ने उनको भनाइ छ ।
सुनलाई तरल सम्पत्तिको रुपमा विश्वभरीनै मान्यता दिइएको छ । सुन यस्तो सम्पत्ति हो जसको मूल्य कहिले घट्दैन केही समय तलमाथि भएपनि फेरि बढेकै हुन्छ । सुनमा लगानी गर्ने लगानीकर्ताले जहिले पनि फाइदा नै लिइरहेका हुन्छन् । ५० हजार प्रतितोलामा किनेको सुन ९० हजारमा बिक्री गर्दा पनि यसमा लाभकर लाग्दैन ।
क्रेताले सो सुन खरिद गर्दाको मूल्य र अहिले बिक्री गर्दाको मूल्यबीच करिब डब्बलको अन्तर रहेको छ । यसबाट खरिदकर्तालाई अतिरिक्त आम्दानी पनि भएको छ । सो कारण यसरी भएको अतिरिक्त आम्दानीमा कर लगाउनु पर्ने सुझाव महासंले दिएको हो ।