‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ नामक पुष्तक मुख्य सचिव अर्यालद्वारा विमोचन

पुष्तकमा के छ ?

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताए । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्सपोर्ट्स एशोसियशनले संयुक्तरूपमा आज आयोजना गरेको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ विषयक पुस्तक विमोचन कार्यक्रममा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निर्यातलाई बढावा दिनुपर्ने बताए ।
मुख्यसचिव डा. अर्यालले मुलुकले निर्यातजन्य वस्तु विकासमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख गरे । निर्यात बढाउनका लागि निर्यात घर स्थापना राम्रो काम भएको बताउँदै निर्यात घर स्थापनाका लागि सरकार लाग्ने स्पष्ट गरे । उनले विदेशमा निर्यात हुने वस्तुलाई स्वदेशी बजारमा समेत प्रयोग गर्नसके राम्रो हुने बताए ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि पुस्तक मार्गदर्शन हुने बताए । उनले निर्यातजन्य वस्तुमा गुणस्तरलाई ध्यान दिन आम व्यवसायीलाई आग्रहसमेत गरे । परराष्ट्र सचिव पौडेलले विदेशस्थित नेपाली नियोगमार्फत निर्यात प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै त्यसमा परराष्ट्र मन्त्रालयले समेत सहजीकरण गर्ने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालमा उत्पादित वस्तुलाई विदेशसम्म निर्यात गर्न सकेमात्र नेपालको अर्थतन्त्र बलियो हुने धारणा राखे । सरकारले विदेशमा निर्यात हुने वस्तुलाई पहिचान गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाललगायतले दिगो विकासको लक्ष्य पूरा गर्न नेपालको मौलिक उत्पादनलाई बढावा दिई विदेशमा निर्यात गर्नुपर्ने बताए ।
बैँक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले आकाशिँदो आयात र बढ्दो व्यापार घाटालाई कम गरी मुलुकमा रोजगारी प्रदान गर्नका लागि निर्यातलाई बढाउनुपर्ने बताए  । उनले मौलिक उत्पादनलाई विकास गरेर विदेशमा निर्यात गर्न सके दुई वर्षमा आठ लाख रोजगारी सिर्जना गर्न सकिने धारणा राखे ।
डा. गोपालप्रसाद तिवारी, उत्तमप्रसाद गौतम र कृष्णराज बजगाईंद्वारा लिखित उक्त पुस्तकमा नेपाली हाते कागज, अल्लो, वस्त्र, उनी फेल्ट, धनियाँ, अलैँची, जडीबुटी, बेसार, अदुवा, धूप/अगरबत्ती र बास्केटलाई विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने बताइएको छ ।

 

पुष्तकमा के छ ?
पुस्तकमा मुख्य १० वटा वस्तुको पहिचान गरी ती वस्तुको निर्यात गर्न सके देशलाई आत्मनिर्भर र अर्थतन्त्रमा मजबुुत बनाउन सकिने बताइएको छ । लेखकहरूले अल्लो, अलैंची, अगरबत्ती÷धुप, फेल्ट, अदुवा, जडीबुटी, नेपाली हाते कागज, धनियाँ, बेसार, यार्न (धागो), कपडा (टेक्सटाइल) तथा तयारी पोशाक र वानस्पतिक रेशाबाट बनेका हस्तकलाका वस्तुहरू (बास्केट, गुन्द्री, चटाई, डोको डालो) लाई उत्पादन गरेर निर्यात गर्न सके देशको अर्थतन्त्रलाई मजबुत बनाउन सकिने बताएका छन् ।

पुस्तकमा मुलुकलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने विषय उल्लेख छ । मुलुकको समग्र आर्थिक विकासका लागि उद्योग तथा वाणिज्य क्षेत्रको योगदान, आपूर्ति सुनिश्चितता सहित पर्याप्त परिमाणमा प्रतिस्पर्धी र गुणस्तरीय वस्तु उत्पादन र निर्यात क्षेत्रलाई दीगो बनाउने मूख्य सम्भावना र चुनौतीका विषय पुस्तकमा समावेश छन् ।

पुस्तकमा व्यापारिक गतिविधि, रियलस्टेट, दोस्रोे बजार तथा सवारी साधनमा केन्द्रित वर्तमान वित्तीय लगानीलाई दीर्घकालीन प्रकृतिको उद्योग क्षेत्रमा केन्द्रित गर्न जरुरी रहेको औल्याइएको छ । देशभित्र बढ्दो माग र बाह्य मुलुकहरूमा निर्यातको बढ्दो सम्भावनाहरूका माझ उत्पादनमूलक क्षेत्रमा थप लगानी आकर्षित गर्न सकिने विषयले पनि प्राथमिकता पाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स