१ सय किलो सुन बरामद प्रकरण: एजेन्टसहित छ जना पक्राउ, अरु के के हुँदैछ ?

कहिले कहिले समातिए ठूलो परिणाममा सुन ?

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । बुधबार रातभर अप्रेसन चलाएको राजस्व अनुसन्धान विभागको टोलीले भन्सार एजेन्टसहित अन्य ५ जनालाई नियन्त्रणमा लिएको हो।

भन्सार कार्यालयबाट जाँचपास भएको सामानको तौल करिब १ सय ६० किलो रहेको छ । राजस्व अनुसन्धान विभागको अपरेसनमा सबैभन्दा धेरै सुन बरामद भएको यो पहिलो घटना हो। नेपाल प्रहरीले भने २०७४ भदौमा ठमेलबाट ८८ किलो सुन बरामद गरेको थियो। जसमा चिनियाँ नागरिकको संलग्नता समेत खुलेको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुंगानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ,’ उनले भने ।

पक्राउ परेका २ जनाको विवरण दिए पनि अन्य ४ जनाको नाम भने गोप्य नै राखिएको छ । समातिएका २ जनाको बयानको आधारमा कनेक्सन देखिएका अन्य मानिसलाई विभागले नियन्त्रणमा लिएको हो।

हङकङबाट विमानस्थलको कार्गोमा आएको सामान जाँचपास गरेपछि भन्सार कार्यालयबाट बाहिरिएको थियो । विशेष सूचनाको आधारमा विमानस्थल पुगेको राजस्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

पहिलो चरणमा सामान राखिएको ट्याक्सीका चालक र भन्सार एजेन्टलाई नियन्त्रणमा लिइएको हो। त्यसपछि बरामद सामान खोलेर हेर्दा सुन फेला परेको थियो। उनीहरूले ‘ब्रेक सु’भित्र सुन राखेर ल्याएको देखिएको छ । विभागको टोलीले सबै सुन निकालेको छ।

सुन मंगलबार राति हङकङबाट आएको क्याथे प्यासेफिक विमानमार्फत आएको थियो। राजस्व विभागलाई केही दिनअघिदेखि नै सुन आउने सूचना आएको थियो।

५० देखि सय किलोबीचमा सुन हुन सक्ने राजस्व अनुसन्धान विभागले अनुमान गरेको छ । । रेडी ट्रेड प्राइभेट लिमिटेडले उक्त सामान मगाएको देखिएको छ । विभागले लिमिटेडका सञ्चालक समेतलाई नियन्त्रणमा लिएको छ ।

उक्त कम्पनीले यसअघि पनि ‘ब्रेक सु’ मगाएको देखिएको छ । तर, ती सामानमा सुन भए/नभएको भने खुल्दैन।

कहिले कहिले समातियो ठूलो परिमाणमा सुन ?
राजस्व अनुसन्धान विभागको अपरेसनमा सबैभन्दा धेरै सुन बरामद भएको साउन ३ गतेको घटना पहिलो हो। नेपाल प्रहरीले भने २०७४ भदौमा ठमेलबाट ८८ किलो सुन बरामद गरेको थियो। जसमा चिनियाँ नागरिकको संलग्नता समेत खुलेको छ ।

गत पुस ८ गते सुडानी नागरिकले ल्याएको १९ किलो सुन भन्सार कार्यालयले बरामद गरेको थियो। उक्त सुन भारत पुर्याउन लागिएको अनुसन्धानमा खुलेको थियो।
२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको घटना भने सबैभन्दा धेरै चर्चामा छ ।

सो प्रकरणमा २०७५ वैशाख १९ गते सात जना प्रहरीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स