काठमाडौं । सरकारले सुनको भन्सार महसुल बढाएको छ । सरकारले हिजो ल्याएको आर्थिक विधेयक २०८० ले सुन आयात लाग्ने भन्सार महसुल बढाएर प्रति १० ग्राम १२ हजार ४ सय पुर्याएको हो । यसअघि प्रति १० ग्राम सुनको भन्सार महसुल ८ हजार ५ सय रुपैयाँ थियो । बढेको भन्सार महसुल आजैदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले लागू गरिसकेको छ ।
आर्थिक विधेयकले सुनको भन्सार महसुल बढाएपछि अब प्रतितोला सुनको भन्सार महसुल ४ हजार ५ सय ५० रुपैयाँले बढेर १४ हजार ४ सय ६३ रुपैयाँ पुगेको छ । बढेको भन्सार महसुलले सुनको मूल्य बढेको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले जानकारी दिए । ‘सरकारसँग कोटो सिष्टम खारेज गरिदिन माग गरेका थियौं,’ उनले भने ‘त्यो व्यवस्था भएन । भन्सार महसुल भने बढाइयो ।’
यसका साथै सरकारले परिवर्तन गरेको नीतिअनुसार पुरुषले अब २५ ग्रामसम्म सुनका गहना कर नतिरी ल्याउन पाउनेछन् । महिलालाई भने ५० ग्रामसम्मको सुनका गहना ल्याउन दिने नीति लिइएको छ । विगतमा ५० ग्राम सुन कर नतिरी र थप ५० ग्राम कर तिरेर ल्याउन मिल्ने व्यवस्था थियो ।
सरकारले यो व्यवस्था संशोधन गर्दै महिलालाई ५० ग्राम कर छुटमा र थप १५० ग्राम कर तिरेर तथा पुरुषलाई २५ ग्राम कर छुटमा र थप १७५ ग्राम कर तिरेर ल्याउन मिल्ने व्यवस्था गरिएको छ ।
विदेशबाट फर्किएका यात्रुले आफ्नो साथमा पहिलो पचास ग्रामसम्म प्रचलित दरअनुसार लाग्ने महसुल र पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत भन्सार लाग्ने छ ।
सरकारले गरहगनाको पनि परिभाषा गर्दै सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई गहनाको रुपमा मान्यता नदिने भएको छ ।
सुन तथा सुनका गहनाको भन्सार मूल्यांकन प्रयोजनका लागि हरेक महिनाको १ गते र १५ गते भन्सार विभागले अन्तर्राष्ट्रिय बजारबाट मूल्यसूची लिई भन्सार कार्यालयहरुमा उपलब्ध गराउने ऐनमा उल्लेख छ ।
विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहना भन्दा बढी निजी प्रयोजनका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यको बीस प्रतिशत रकम धरौटी राखि ल्याउन दिने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ ।
त्यसरी ल्याएको गहना निज यात्रु फर्कंदा भन्सार बिन्दुमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ । परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएमा भन्सार ऐन, २०६४ बमोजिमको कारबाही हुनेछ ।