युवाहरुको लागि एकदमै राम्रो बजेट आएको छ, कार्यान्वयन हुने आशा छः अध्यक्ष चिराग गोयल

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष चिराग गोयलले युवाहरूको लागि राम्रो बजेट आएको बताएका छन् । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक वर्षको बजेटमा अध्यक्ष गोयलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘युवाको लागि धेरै राम्रो बजेट आएको छ, यस वर्ष मुख्यतया युवा उद्यमशीलता विकास वर्ष घोषणा गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ,’ उनले भने, ‘हाम्रा माग पूरा भएका छन्, अब यो कार्यान्वयन हुने आशा छ ।’

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन वर्ष घोषणा गरेको छ । सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ । जुन स्वागत योग्य छ । बजेट वक्तव्य प्रस्तुत गर्दै युवा पुस्ताको उद्यमशीलता विकास, व्यवसाय सञ्चालनमा आकर्षण गर्न सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिने घोषणा गरेको छ ।

सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ । यो पनि युवा उद्यमीको लागि राम्रो हो भन्ने हामीले बुझेका छौं,’ उनले भने ‘अब कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, १०० रूपैयाँ अधिकृत पुँजीमै खोल्न सकिने भएको छ ।

‘नवप्रवर्तन, आविष्कार र अनुसन्धानसम्बन्धी कार्यमा समन्वय एवं सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाइ स्थापना गरिनेछ,’ बजेटमा भनिएको छ, ‘मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप ईको सिस्टम विकास गरिनेछ । उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौंमा इन्क्युवेसन सेन्टर सञ्चालन गरिनेछ ।’ स्टार्टअपलाई प्रोत्साहन गर्न बजेटले १ अर्ब २५ करोड विनियोजन गरेको छ । यी बजेटले गरेका व्यवस्था हामीजस्ता उद्यमीको लागि राम्रो हुने उनले देखेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स