काठमाडौं । निजी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत योगदान दिएको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा ‘द स्टेट अफ प्राइभेट सेक्टर’ नामक अध्ययनले उक्त तथ्यांक यकिन गरेको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदानबारे पहिलोपटक अध्ययन गरेको बताए ।‘ निजी क्षेत्रबिना देशको विकास हुँदैन भन्ने यो गतिलो परिणाम हो‘ । यो अध्ययनले नेपालमा निजी क्षेत्रको योगदान के रहेछ भन्ने देखाएको छ,’ उनले भने ‘जसका कारण निजी क्षेत्रमैत्री नीति र व्यवहार गर्न सरकारलगायत सरोकारवालाहरुलाई मार्ग देखाएको छ । निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने उनको भनाइ छ ।
सार्वजनिक गरिएको यो अध्ययनले महत्त्वपूर्ण नतिजा दिएको भन्दै नेपालको रोजगारीमा निजी क्षेत्रको ८५ प्रतिशत योगदान रहेको जानकारी दिए । ‘निजी क्षेत्रले रोजगार दिन नसक्दा अहिले ९ महिनामै ६ लाख युवा कामका लागि विदेशिएका छन् ,’ उनले भने ‘आर्थिक विकासका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका छ र दिगो रुपमा रहिरहन आवश्यक छ । र त्यो सुधारको प्रस्थानविन्दु यसपटकको बजेट हुनुपर्छ ।’
‘निजी क्षेत्रले विगत एक बर्षदेखि अपेक्षाकृत काम गर्न सकेको छैन । उद्योग, व्यापार र निर्माण क्षेत्र झन ऋणात्मक नै छ । जसका कारण ८ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित भएको छ । राजस्व करिब १६ प्रतिशतले घट्दा सरकारलाई चालु खर्च धान्न पनि कठिन भैरहेको उनले बताए ।
त्यसका लागि ब्याजदर स्थायित्व, कर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरण आवश्यक रहेको र उद्यमी व्यवसायीलाई पुर्नकर्जा सुविधा आवश्यक रहेको उनले बताए ।
हालसम्म यस्तो किसिमको अध्ययन नभएको भन्दै आइएफसीका नेपाल प्रतिनिधि बाबाकर सेद्ख फायले नेपालमा यो नै पहिलो अध्ययन भएको जानकारी दिए । उनले आफूहरु विश्व बैंकको साझेदार भएको भन्दै निजी क्षेत्रलाई सहयोग गर्ने भएरै अध्ययनमा सघाएको बताए ।
उनले निजी क्षेत्र विकासको मामलामा सधैं मध्यभागमा हुनुपर्ने धारणा राखे। यस अध्ययनले साना तथा मझौला उद्योगहरुलाई पनि समेटेको भन्दै यी क्षेत्रले भोगिरहेको विषयलाई समाधान कसरी गर्ने भन्नेसम्मको बाटो यस अध्ययनले देखाउने बाबाकरको जानकारी दिए।
यस अध्ययनका क्रममा नेपालका पाँचसय १७ फर्महरुलाई सर्वेक्षणमा सहभागी गराइएको थियो ।