काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घटाएको छ । भारतले डिजेलको भन्दा पेट्रोलेको मूल्य १ रुपैयाँ बढीले घटेर मूल्य आएपनि निगमले भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य यथावत राखेको छ ।
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।
निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । मगलबार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।
सोही अनुसार सञ्चालक समिति बैठकले मंगलबार राति डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।