उदयपुर सिमेन्ट उद्योगको नाफा ५८ करोड १४ लाख, आगामी बजेटमा विशेष व्यवस्था गरिने मन्त्री रिजालको प्रतिबद्धता

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जानकारी दिएका छन् ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको ३५औं साधारणसभा उद्घाटन गर्दै मन्त्री रिजालले उद्योगलाई राम्रोसँग चलाउन सक्ने गरी आगामी बजेटमा व्यवस्था गर्ने लागेको जानकारी दिएका हुन् । उद्योगमा सरकारले थप लगानी गर्न मन्त्रालयले एक कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनका आधारमा लगानीको स्वरुप प्रस्ट हुने मन्त्री रिजालले बताए ।

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगलाई बचाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनु पर्ने भन्दै त्यसका लागि सरकारले आवश्यक सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योगमा काम नै नगरी ओभरटाइम सेवा लिने प्रवृत्तिलाई दुरुत्साहित गर्नुपर्नेमा पनि उनले जोड दिए ।

साधारणसभाकै अवसर पारेर उद्योगमा पुगेका मन्त्री रिजाललाई स्थलगत अवलोकन गराउनुका साथै उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उद्योगको अवस्था, हाल भैरहेको क्रियाकलाप र भावी योजनाको बारेमा जानकारी गराएका थिए ।

उद्योगको लागि ३० बर्ष पुराना मिल मेसिनरी फेर्न र उत्पादन बढाइ दैनिक १६ हजार बोरा पुर्याउन ५५ करोड ७५ लाख लगानी गरिदिन आग्रह गरे । हाल २० करोड मात्रै भएपनि लगानी गर्न सके पनि क्लिन सेल र बर्नर फेर्न सके मात्रै पनि उत्पादन बढ्ने उनले बताए । स्मरणीय के छ भने आजभन्दा ५÷६ वर्ष पहिले ५.१ मिटर क्लिन सेल फेर्दा झण्डै ७ करोड लगानी भएको थियो ।

अहिले २०.८ मिटर फेर्न ६ करोड ८ लाखमा भारतको ख्यातिप्राप्त कम्पनी सिम्प्लेक्सले उत्पादन गर्ने क्लिन सेलमा अमेरिकन स्टाण्डर्डको फलाम प्रयोग भएको छ र निर्माण समेत भैसकेको छ । महाप्रबन्धक न्यौपानेले पैसाकै अभावले यति सस्तोमा पाएको सेल फेर्न नसकेको बारे पनि मन्त्री रिजाललाई अबगत गराए । उद्योगको सभाहल जलजलेमा सम्पन्न उक्त साधारणसभाको अध्यक्षता उद्योगका अध्यक्ष केशबकुमार बस्नेतले गरेका थिए ।

त्यस्तै विराटनगर जुटमिल्सले २०५१ सालमा ऋण लगेको ३४ लाख रकम असुल गर्न विराटनगर जुटमिल्सका नाममा रहेको तीन बिघा १२ कट्ठा जग्गा रोक्का राख्ने निर्णयलाई साधारणसभाले अनुमोदन गरेकोे छ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो भने लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा महालेखा परीक्षकको कार्यालयबाट नियुक्त लेखापरीक्षक र निजले पाउने पारिश्रमिक अनुमोदन गर्ने तथा आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, कम्पनी ऐन, २०६३ को दफा ७६ अनुसार पब्लिक कम्पनीको खुद सम्पत्ति नेट वर्थको जानकारी दिइएको थियो ।

उद्योगको अवस्थाको बारेमा जानकारी गराउँदै महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उद्योगले खर्च मितव्ययिता गरी यस आर्थिक वर्षमा ४ करोड ९२ लाख ५६ हजार ३ सय ४ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको जानकारी दिए । उद्योगले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आव २०७८/०७९ मा करिब २३ प्रतिशत बढी उत्पादन गर्न सफल भएको थियो ।

आव २०७७/७८ मा १७ लाख ६७ हजार बोरा सिमेन्ट उत्पादन हुँदा ३० करोड नोक्सानी भएकोमा आव २०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट उत्पादन गरी नाफा आर्जन गर्न सफल भएको उद्योगका महाप्रबन्धक न्यौपानेले जानकारी दिए ।

त्यस्तै उद्योगले २०७९ असार मसान्तसम्म ५८ करोड १४ लाख ६६ हजार ९ सय ९ रुपैयाँ सञ्चित नाफा आर्जन गरेको सभामा महाप्रबन्धक न्यौपानले बताए ।

उद्योगको अधिकृत पुँजी १० अर्ब रहेको, साधारण सेयर ४४ करोड ३७ लाख ५१ हजार, अग्राधिकार सेयर ३ अर्ब २० करोड ४३ लाख र जम्मा सेयर ३ अर्ब ६४ करोड ८० लाख ५१ हजार रहेको पनि सभामा जानकारी दिइएको थियो ।

गोपीकृष्ण न्यौपाने महाप्रबन्धक भएर जानु अघि उद्योगमा लामो समयदेखि अव्यवस्थित अवस्थाबाट सञ्चालन हुँदै आएको थियो भने लामो समयदेखि साधारणसभा समेत गर्न सकेको थिएन् ।

तर, महाप्रबन्धक न्यौपाने उद्योगमा गएपछि कम्पनी ऐन २०६३ बमोजिम कम्पनीको स्थापनाकाल बि सं २०४४ साल देखिको सम्पूर्ण कागजातहरु व्यवस्थित गर्दै आर्थिक वर्ष २०६३/०६४ देखि २०७६/७७ सम्म एकै पटक १४ आवको साधारण सभा सम्पन्न गरेका थिए ।

त्यसपछि उद्योगको सम्पूर्ण अवस्थाको बारेमा जानकारी दिदैं साधारणसभा नियमित हुन थालेको छ । उद्योगको आर्थिक वर्ष २०७७/०७८ को गत २०७९ साल जेष्ठ ३० गते साधारण सभा सम्पन्न गरी सोको सम्पूर्ण विवरणहरु श्री कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेखिकरण गराइ सेयर लगत समेत प्रमाणित गराइ सकिएको छ ।

कुनै पनि उद्योग या संस्थाको साधारणसभालाई आर्थिक अनुशासन र संस्थागत सुशासनको महत्वपूर्ण पाटोको रुपमा लिने गरिन्छ । तर, उद्योगको विगतमा धेरै बर्षदेखि रोकिएको त्यही साधारणसभा महाप्रबन्धक न्यौपानेको कार्यकालमा नियमित हुन थालेको छ । यसले उद्योग सुधार र सुशासनको पक्षमा अगाडि बढिरहेको पुष्टि गर्दछ ।
उद्योगमा महाप्रबन्धक न्यौपाने आएपछि सुधारका धेरै प्रयासहरू भएका छन् ।

विशेषगरी उत्पादनको गुणस्तर, विक्री वितरणको सही व्यवस्थापन, कर्मचारीको हितमा उचित सम्बोधन तथा व्यवस्थापन, उद्योगको दायित्व घटाउने, संस्थागत सुशासन तथा आर्थिक अनुसाशन कायम गर्ने जस्ता विषयहरूमा महाप्रबन्धक न्यौपानेले योजनाबद्ध ढंगले लागि परेको जनाएका छन् ।

उद्योगको समग्र अवस्थालाई गति दिने गरी उनले सुरू गरेको धेरै प्रयासले परिणाम समेत दिन थालिसकेका छन् । फलस्वरुप उद्योगले सिमेन्ट उत्पादन र विक्रीमा समेत नयाँ–नयाँ रेकर्ड राख्न सफल भइसकेको छ ।

व्यवस्थापकीय नेतृत्वले चुस्त, दुरुस्तका साथै योजना र रणनीतिक ढंगबाट उद्योग अगाडी बढाउने प्रयास गर्दा हरेक उपब्धिहरू हात पार्न सकिदो रहेछ भन्ने न्यौपाने यो उद्योगमा उदाहरण बनिरहेका छन् । उनको कार्यकालमा उद्योगमा एक पछि अर्को त्यस्ता धेरै उल्लेखनिय कार्य भइरहेको जानकारहरु बताउँछन् ।

उद्योग सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरू तथा सम्पूर्ण कामदार कर्मचारीहरुको सहयोगले नै आफ्नो योजना, रणनीति र प्रयासहरूले सफलता हात पारिरहेको महाप्रबन्धक न्यौपानेले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स