दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण अघि बढ्यो, ईआईए रिपोर्ट पास भयो

काठमाडौं । ७ अर्ब रुपैयाँ लगानीका बन्न लागेको दोधारा चाँदनी एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ । योसँगै बैंक उक्त बन्दरगाह निर्माण कार्य अघि बढेको हो ।
अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाअन्तर्गत वडा १, २ र ३ मा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्रस्ताव गरिएको थियो ।

दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ११७ हेक्टर वन क्षेत्र मध्ये ६३ हेक्टर जग्गामा आयोजनाको तयारी कार्य प्रारम्भ गर्न प्रधानमन्त्री एवम्ं वन तथा वातावरण मन्त्री स्तरको वैशाख १७ को निर्णयबाट स्वीकृत भएको छ ।

नेपालले गुरुयोजना अनुसार डीपीआर तयार बनाएको थियो । उक्त डीपीआर अनुसार ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो। भारतले निर्माण गर्ने भएपछि सो लागत घटाएर ३ अर्ब रुपैयाँ बन्दरगाह निर्माण गर्ने योजना अघि सरेको छ ।

सो स्वीकृतिसँगै सुदूर पश्चिम प्रदेशमा व्यापार सहजीकरणका लागि आधुनिक स्तरको एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माणको ढोका खुलेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेलले जानकारी दिए । ‘यहि वैशाख १७ गते उक्त ईआईए पास भएको हो,’ उनले भने ‘डिपीआर हुँदैछ, त्यसपछिमात्रै लागत आउँछ , भारतले बनाउने कुरा आएको छ ।’

एकीकृत चौकी र सुक्खा बन्दरगाह सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा छ । यी दुई आयोजनाका लागि दोधारा चाँदनी नगरपालिका वडा १,२ र ३ मा पर्ने मायापुरी सामुदायिक वन उपभोक्ता समिति र गौरीशंकर सामुदायिक वन उपभोक्ता समितिले चर्चेको करिब २८० बिगाहा जग्गा पहिचान गरिएको थियो।

कति काट्नु पर्छ रुख ?

वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत प्रतिवेदन अनुसार सो सामुदायिक वन क्षेत्रमा पर्ने १ हजार ९८९ गोटा रुखहरु काट्नु पर्ने र त्यसको क्षतिपूर्ति वापत १ लाख ५० हजार ५२५ वटा रुख शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति तथा नगरपालिकासँग समन्वय गरी वृक्षारोपण गरिने उल्लेख छ।

कस्तो हुन्छ आयोजन ?

यो परियोजनाबाट वार्षिक ३.२० प्रतिशत वार्षिक प्रतिफल प्राप्त हुने अनुमान गरिएको छ। यो परियोजना पहिलो चरणको संरचना सन् २०२५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजनामा मुख्य गेट तीनवटा, भन्सार तथा अध्यागमन सेक्युरिटी, बैंक/भन्सार, अत्याधुनिक ल्याब, भान्छा यार्ड, वेयरहाउस, १२ सय क्षमताको ट्रक पार्किङ, तीन हजार क्षमताको कन्टेनर पार्किङ, रेल्वे प्लेटफर्म, रेल्वे वेयरहाउस कन्टेनर यार्ड, डर्टी यार्ड लगायत संचरना निर्माण गरिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स