काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत नियमन आयोग र प्राधिकरणबाट भएका निर्णयहरू सच्याउन आग्रह गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेट गरी उक्त निर्णय सच्याउन आग्रह गरको हो ।
‘जलविद्युतको प्रचुर सम्भावना हुँदाहुदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणका पछिल्ला निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण गराएको छ,’ महासंघद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ । दुबै निकायबाट भएका निर्णयहरु समग्रमा उद्योग व्यवसायलाई निरुत्साहित गर्ने हिसावले आएकाले त्यसलाई तत्काल संशोधन गर्न महासंघले आग्रह गरेको छ ।
नियमन आयोगद्वारा मिति २०७८÷०५÷३० मा सार्वजनिक सूचना प्रकाशित गरि डिमाण्ड शुल्क बढाउन सिफारिस गरेको थियो भने प्राधिकरणले लामो समयदेखि विद्युत खरिद सम्झौता (पीपीए) रोकि राखेको अवस्था छ ।
सो अवसरमा डिमाण्ड शुल्क वृद्धि हुँदा औद्योगिक लागत बढन गई आर्थिक गतिविधि संकुचित हुने हुँदा लक्षित आर्थिक वृद्धि र रोजगारी सिर्जनामा समेत प्रतिकूल असर पर्ने कुरा सो अवसरमा जानकारी गराइयो । महासंघले प्रतिष्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत महसुल न्युन गरि अन्य शुल्क हटाउदै जानुपर्ने माग गरिरहेको वेला आयोगले उद्योगहरुका लागि टिओडी मिटर मार्फत निश्चित समयमा विद्युत महसुल बढि लिन पाउने सिफारिस समेत गरेबाट महासंघ आश्चर्यमा परेको छ ।
कोभिडको हालको बिषम परिस्थितिमा डिमाण्ड शुल्क बृद्धि र टिओडी मार्फत महसुल वृद्धिका लागि नियमन आयोगबाट गरिएको सिफारिस समय सापेक्ष देखिदैन् । त्यसैले डिमाण्ड शुल्क र महसुल बढाउन सिफारिस कार्यान्वयन नगरि उद्योगहरुलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउन निर्देशन जारि गर्न समेत महासंघका तर्फबाट उर्जा मन्त्री समक्ष अनुरोध गरियो ।
साथै २०७५ साल फागुनदेखि रोकी राखिएको पीपीए भौतिक पूर्वाधार सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनाहरुसंग तत्काल पीपीए गर्न पनि सो अवसरमा अनुरोध गरिएको थियो ।
सो अवसरमा मन्त्री भुसालले महासंघका सुझावलाई आफूले अध्ययन गरी सक्दो सहयोग गर्ने विश्वास दिइन् । महासंघबाट गएको प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई, उर्जा समितिका सभापति गोपाल खनाल, उद्योग समितिका सभापति भरतराज आचार्य, उर्जा समितिका सहसभापति शैलेन्द्र गुरागाई, उद्योग समितिका सहसभापति सुशिल थापा, महासंघका निमित्त महानिर्देशक गोकर्णराज अवस्थीको सहभागिता थियो ।