महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासंघको बुधबार निर्वाचन भएको थियो । जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज विहान सकिएको हो ।

पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएका छन् । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका छन् । उमेशलाल श्रेष्ठले कुल मतभारतमध्ये ३१ दशमलव ५१ मत र रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गरेका छन् ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत, अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका छन् भने ८ मत बदर भएको छ।

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गरेका छन् । साथै ३ मत बदर भयो । वस्तुतगतर्फ खसेको १२३ मतमध्ये उमेशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गरे भने एक मत बदर भयो ।

वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स