काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको योगदान खोजेका छन् । मंगलबार महासंघको ५७ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष गोल्छाले निजी क्षेत्रले राजस्वसँगै रोजगारीमा पनि योगदान गरेको बोर्ड झुन्ड्याउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा अध्यक्ष गोल्छाले ‘निजी क्षेत्र बिना विकास सम्भव नभएको’ भनेर बारम्बार भने पनि व्यवहारमा त्यस्तो नदेखिएको उल्लेख गरे ।
‘हाम्रो प्रतिकूलतालाई अनुकुलतामा बदल्ने गर्भिलो इतिहास हामीसँग छ,’ उनले भने, ‘यो अबको दिनमा पनि सम्भव छ । किनभने अब महासंघलाई मैले काबिल हातको जिम्मा लगाउँदै छु ।’
उनले भने, ‘प्रधानमन्त्रीज्यू, उद्योगमन्त्रीज्यू यो अवसर यहाँहरुले सिर्जना गरिदिनु पर्छ । हाम्रो खुट्टामा अवरोधको जञ्जिर लगाउने सुविधा अब छैन । हामी चाहन्छौं, हाम्रो संगठित संघर्ष सरकार विरुद्ध आन्दोलनका लागि कहिल्यै पनि नहोस ।’ उनले उद्योगी तथा व्यवसायीहरुबीचको सहकार्य सर्वसाधारणको समुन्नती र सरकारका लागि होस् भन्ने उल्लेख गर्दै सरकारले अवसर दिएमा मुलुकमा सम्मुन्नति ल्याउने बताए ।
‘यो सम्भव छ,’ गोल्छाले भने, ‘नीजि क्षेत्र अघि बढेपछि भारतमा १.४ प्रतिशतले गरिबीको दर घटेको छ । हामीजस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पुगेको छ । ३० वर्षअघि १ सय दिनको अवधीमा ८ लाख मानिस गुमाएको रुवान्डाको २० वर्ष यताको वार्षिक आर्थिक बृद्धिदर औसत ८ प्रतिशत रहेको छ ।
अध्यक्ष गोल्छाले राज्य चलाउने पैसा निजी क्षेत्र र सर्वसाधारणले तिरेको ट्याक्सबाट आउँछ भनेर सरकारी कर्मचारीले बुझ्न जरुरी रहेको बताए । ‘त्यो बुझेर सरकारी कर्मचारीले छिटोछरितो काम गरिदिनु पर्छ,’ उनले भने, ‘त्यसले निजी क्षेत्रको काम गर्न मनोबल बढ्छ ।’
निजी क्षेत्रले काम गर्न सकेन भने सरकारको काम पनि चल्दैन, उनले टिप्पणी गरे । ‘सरकार ढुकुटी निजी क्षेत्र र सर्वसाधारणको उपक्रमबाट जुट्छ भनेर मनन गर्न जरुरी छ,’ उनले भने पछिल्लो दिन सरकार पनि राजस्व नउठेर समस्यामा परेको र आन्तरिक ऋण उठाएर तलव खुवाउनु परेको अवस्था छ ।’ सरकारको चालु खर्च धान्नका लागि निजी क्षेत्रलाई निचोर्ने काम गरिरहेको भन्दै उनले आर्थिक गतिविधि बढाएर राजस्वमा सुधार गर्न आग्रह गरे ।
अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई सरकारविरुद्धको आन्दोलमा जाने बाध्यता नपरोस् भन्दै सरकारसँग समुन्नतिका लागि सहकार्य होस् भन्ने निजी क्षेत्रले चाहेको बताए ।
महासंघ अर्थतन्त्र जोगाउने अभियानमा रहेको भन्दै विगतमा सबै पक्षले गरेको गल्तीका कारण अर्थतन्त्र समस्यामा परेको पनि उनले औल्याए । अब सबै मिलेर समाधानका लागि काम गर्न पनि उनले आग्रह गरे। डेढ वर्ष अगाडिको तुलनामा आन्तरिक उत्पादन ५० प्रतिशत घटेको, आर्थिक गतिविधि सुस्त भएको, तरलता र ब्याजदरको समस्या उत्पन्न भएको बताए।
उनले अब सरकार र राष्ट्र बैंकले तरलता व्यवस्थापन र ब्याजदर घटाउनका लागि सबै उपाय गर्नुपर्ने बताए । ‘बैंकहरुले पनि बुझ्न जरुरी छ, उद्यम चलेन भने बैंक पनि अप्ठेरोमा पर्छ,’ उनले भने । उनले आन्तरिक उत्पादन बढाउन कृषिको औद्योगीकरण हुन जरुरी रहेको उनको भनाइ छ । कृषिमा लागत महँगो भएका कारण यस क्षेत्रमा आकर्षण कम भएको भन्दै त्यो घटाउनेतर्फ सरकारले ध्यान जानु पर्ने उनको भनाइ छ ।