होटल संघ नेपालले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र, राखे ४ बुँदे सुझाव

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणाको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटी ज्ञापनपत्र बुझाएको छ । आज चैत २१ गते उक्त प्रतिनिधिमण्डलले अर्थमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको हो ।

उक्त अवसरमा संघका अध्यक्ष राणाले कोभिड-१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको बताइन् ।

अध्यक्ष राणाले कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए तापनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा घाटामा संचालनमा रहेको हुँदा देशैभरका होटल व्यवसायीहरुले माग गरेका ज्वलन्त समस्याहरु समाधान गरिदिनु अनुरोध गर्दै निम्न मुख्य बुँदाहरु प्रस्तुत गरिन् ।

तत्काल समाधानका लागि ज्वलन्त सुझाव :

१.राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सम्बन्धमा : धेरै धनराशी खर्च भई, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत तथा बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह आगामी बजेट र कानूनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा समावेश गरी यस उद्योगको जर्गेना गरिदिनु हुन माग गर्दछौं ।

२.ब्याजदर सम्बन्धमा : व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेको बैंकको बढ्दो ब्याजदर होटल जस्तो अति संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकुल देखिएकोले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिनु हुन अनुरोध ।

३.समय सीमा सम्बन्धमा : होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने बुझाउने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले हालको अवस्थामा कुनै पनि हालतमा बैंकलाई साँवा र व्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यगवसायीहरु आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजिकरणका लागि हार्दिक अनुरोध गरिन्छ ।

४.पुनतालिकीकरण र पुनरकर्जा सम्बन्धमा : मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनरकर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था हुन विशेष अनुरोध गरिन्छ ।

उक्त भेटघाट कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विनायक शाह, द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कार्यसमिति सदस्य युवराज श्रेष्ठ तथा कानुनी सल्लाहकार गान्धी पण्डितको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स