निर्यात प्रर्वद्धनका लागि एक्सपोर्ट हाउस खोल्न उद्योगमन्त्री समक्ष चेम्बरको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसंग भेटवार्ता गरेको छ । मन्त्री रिजाललाई वधाई एवं शुभकामना दिने क्रममा चेम्बरले निर्यात प्रर्वद्धन सम्वन्धी ठोस नीति एवं योजना ल्याउन समेत आग्रह गरेको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘निर्यात प्रर्वद्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा ७ वटै प्रदेशमा अबिलम्व लागु गरी निर्यात उद्योगहरुलाई प्रोत्साहन गरिनुपर्दछ,।’ मन्त्री रिजालसंगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात ब्यापारलाई मुल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाउन समेत आग्रह गरे । यस्तै निर्यात अनुदानलाई एकद्धार प्रणाली अन्र्तगत निकासीकर्तालाई सरल र सहज ढंगले प्रदान गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

यस्तै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सको पैसालाई उत्पादन मुलुक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन मन्त्री रिजाल समक्ष आग्रह गरे । रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादन मुलक क्षेत्रमा प्रभावकारी नीति सहित युवाहरुको लगानीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ ।

सिंहदरवारमा आज भएको भेटवार्तामा चेम्बरले औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रर्वद्धन गर्न एवं विभिन्न आर्थिक विधेयकलाई अगाडी बढाउन आग्रह गर्दै १७ बुँदे सुझाव समेत पेश गरेको छ ।

मन्त्री रिजाल समक्ष अध्यक्ष मल्लले भने, ‘मुलुक रेमिट्यान्सका भरमा चलेको छ । युवाहरुले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रर्वद्धन गर्न सकिन्छ, ।’ वार्षिक १० खर्व भन्दा बढी रेमिट्यान्स मुलुक भित्रिँदा समेत औद्योगिक उत्पादनमा सदुपयोग गर्न नसकिएको अध्यक्ष मल्लले बताए ।

यस्तै कालोबजारी ऐन २०३२ का कतिपय प्रावधान पनि हालको अवस्थामा असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । संसदमा विचाराधीन निजी क्षेत्रसंग सम्वन्धित आर्थिक एवं अन्य विधेयकहरुलाई समयमै पारित हुने वातावरण बनाउन समेत मन्त्री रिजाललाई आग्रह गरिएको अध्यक्ष मल्लले बताए ।

चेम्बर टोलीसंगको भेटपछि मन्त्री रिजालले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उनले निजी क्षेत्रसंग मिलेर काम गर्न तयार रहेको भन्दै आफु खुला बजार अर्थनीतिको पक्षमा रहेको बताए । मन्त्री रिजालले भने, ‘म बजारमा आधारित अर्थतन्त्रमा विश्वास गर्ने व्यक्ती हुँ । उद्योग खोल्ने काम, ब्यापार गर्ने काम सरकारले गर्ने होईन । निजी क्षेत्रका लागि उपयुक्त वातावरण बनाईदिने हो, । ’

औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रर्वद्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा समेत उल्लेख भएकाले सरकार अव रणनीतिका साथ अघि बढ्ने मन्त्री रिजालको भनाई छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स