महासंघ चुनावमा त्रिपक्षीय भिडन्त, यसरी चयन हुन्छ महासंघ नेतृत्व ?

कस्ता उद्यम व्यवसाय गर्छन् उम्मेदवार

काठमाडौं । उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ ५७ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यकारिणी समितिका सदस्यहरूको निर्वाचन यहि चैत २८र २९ गते काठमाडौंमा हुने भएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वयम् अध्यक्ष बन्ने छन् भने वरिष्ठ उपाध्यक्षका लागि हुने यो निर्वाचनमा त्रिपक्षीय भिडन्त हुनेछ ।

वरिष्ठ उपाध्यक्षको पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । अस्ति आइतबार हाल महासंघका एसोसियट उपाध्यक्ष रामचन्द्र संघईले उम्मेदवारी मनोनय दर्ता गराएका थिए भने हिजो सोमबार महासंघ पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षको लागि मनोनयन दर्ता गराएका थिए । आज मंगलबार अन्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । उमेशलाल श्रेष्ठ क्वेस्ट फर्मासिटिकल्सका प्रबन्ध निर्देशक हुन् भने अन्जान श्रेष्ठ लक्ष्मी ग्रूपका कार्यकारी निर्देशक र रामचन्द्र संघई त्रिवेणी ग्रूपका निर्देशक हुन् ।

यी तीन प्यानलको महासंघमा आ–आफ्नै बचश्व छ । औषधि उद्यमी उमेशलाल श्रेष्ठ महासंघमा जमेका र राष्ट्रिय राजनीतिमा पनि उत्तिकै पहिचान भएका व्यक्तित्व हुन् । अन्जन र संघई उद्यमी तथा व्यवसायमा राम्रो जमेका व्यवसायिक घरानाका व्यक्तित्व हुन् । उनीहरूले अहिले आफ्नो अर्गनाइजेशलाई ‘टप लेभल’ बाट मार्ग निर्देश गर्दै आफू भने महासंघको राजनीतिमा होमिएका छन्् ।

महासंघ नेतृत्व लिनका लागि बनेको प्यानलको आ–आफ्नै स्वार्थ छ । यो प्यानलका नेतृत्व पङ्तीमा रहेका कोहि कर छलिमा मुछिएका छन् भने कोहि भने बैंकबाट लिएको कर्जा नतिरेपनि हुन्छ भन्ने लविङमा लागेका र त्यसलाई नै चुनावी एजेण्डा बनाएर हिडेका छन् ।

महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दावेदार अन्जन श्रेष्ठको प्यानलबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका छन् भने एसोसिएट्सतर्फबाट उपाध्यक्ष पदमा प्रवलजंग पाण्डेले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन् ।

कस्तो छ अन्जनको टिम ?

अघिल्लो चुनावमा उमेशलाल श्रेष्ठलाई हराएर वस्तुगत उपाध्यक्ष बनेका अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा भिड्दै छन्। उनी नाडा अटोमोबाइल्स एसोसिएसनका पूर्वअध्यक्ष तथा लक्ष्मी ग्रुपका निर्देशक हुन्। लक्ष्मी ग्रुपले उत्पादनमूलक उद्योग, व्यापारिक क्षेत्रमा लगानी गरेको छ। सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी छन्।

व्यापारतर्फ लक्ष्मी ट्रेडिङमार्फत चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी, विभिन्न प्रकारका प्लास्टिक ग्रेन्युल, पाम कर्नेल तेल, पाम आयलको व्यापार गर्दै आएको छ। त्यस्तै अटोमोटिभमा कोरियन कम्पनी हुन्डाई प्यासेन्जर भेहिकल्सको आधिकारिक बिक्रेताको काम पनि गरिरहेको छ। त्यसबाहेक एसएमएल इसुजु र प्रिमियम अटो ब्राण्ड बीएमडब्लु गाडीको आधिकारिक बिक्रेता समेत हो।

अन्जन श्रेष्ठको टिममा रहेका अरुणराज सुमार्गी जिल्ला नगरतर्फको उपाध्यक्ष लड्दै छन्। उनी मूलतः हेटौंडामा बसेर निर्माण क्षेत्रको व्यवसाय हेर्ने गर्छन्। अञ्जनको टिमबाट वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान रहेका छन्। प्रधान सुनचाँदी व्यवसायी हुन्। उनी नेपाल रत्न तथा आभूषण संघका पूर्वअध्यक्ष हुन्। एसोसिएट उपाध्यक्षमा औषधी व्यवसायी प्रबलजंग पाण्डे निर्वाचनमा लड्ने भएका छन्।

को को छन् उमेशलालको टिममा ?

श्रेष्ठले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् भने उनको समूहबाट जिल्लानगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ भरतराज आचार्य र वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् ।

उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। औषधि उद्योग क्वेस्ट फर्मास्युटिकल्सका सञ्चालक रहेका श्रेष्ठले सोमबार प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।

उमेशलालको टिमबाट जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन्। उनले सोही पद दोहोर्याउनलागेका हुन्। प्यासिफिक ग्रुपका मुख्य सञ्चालक दिनेश कागजजन्य शैक्षिक सामग्रीहरु उत्पादन गर्ने अशोका कार्बन एण्ड अलाइड कम्पनी, सार्प कर्पोरेसन, प्यासिफिक कमर्सियल, श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ कन्सर्न लगायतका कम्पनीमा आबद्ध छन्।

उनको टिममा वस्तुगत उपाध्यक्षतर्फ हेमराज ढकालले चुनाव लड्नेछन्। ढकाल निर्यात, उत्पादनमूलक, सेवा, कृषि, सीपलगायत क्षेत्रमा आवद्ध रहेका छन्। ढकाल पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ हुन्। चण्डीराज ढकाल लामो समय महासंघको राजनीतिमा पकड जमाउने व्यवसायी हुन्।

उनको टिममा एसोसिएट उपाध्यक्षमा भरत आचार्य चुनाव लड्दै छन्। उनी टीएनएस ग्रुप अध्यक्ष हुन्। उनलाई उद्योग समितिको सभापतिको जिम्मेवारी समेत दिइएको छ। यसअघिको निर्वाचनमा उनी चन्द्र ढकालको प्यानलबाट कार्यकारिणी सदस्य उठेका थिए। जसमा सबैभन्दा लोकप्रिय मत समेत ल्याएका थिए।

संघईले कस–कसलाई मिलाए ?

अर्का वरिष्ठ उपाध्यक्षका दावेदार रामचन्द्र संघईको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचनले उम्मेदवारी दर्ता गराएका छन् ।

वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी रामचन्द्र संघईले पनि टिम घोषणा गरिसकेका छन्। उनी अघिल्लो निर्वाचनमा चन्द्र ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्ष लडेका थिए। त्रिवेणी ग्रुपका निर्देशक संघई उत्पादनमूलकतर्फ सिमेन्ट, त्रिवेणी स्पिनिङ, यार्न,  ग्यास, जडीबुटी प्रशोधन उद्योग, टोकला चियालगायतमा लगानी गरेको छ।

ट्रेडिङतर्फ एरियल, प्रान, सनफेस्ट, उपकरणको बिक्रेता, मसलाजन्य वस्तुको बिक्री गर्दै आएको छ। बैंक तथा वित्तिय संस्थामा उनको लगानी छ।  महासंघको वस्तुगत उपाध्यक्षमा हालका कोषध्यक्ष सुकुन्तलाल हिराचनले उम्मेदवारी दिने भएका छन्। उनी निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत हुन्।

संघाईको टिमबाट जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैद्यले चुनाव लड्ने भएका छन्। उनी महासंघका २ कार्यकाल कार्यसमिति सदस्य बिताएका थिए। उनले जिल्ला नगरका साना र मझौला व्यवसायीको समस्या समाधान गर्ने प्रयास गर्ने बताएका छन्।

एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ उठ्ने भएकी छन्। सुनचाँदी व्यवसायमा आबद्ध श्रेष्ठ रत्न तथा आभुषण संघका अध्यक्ष रहेकी छिन्।

यसरी बन्छ महासंघको कार्यकारिणी

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छ । महासंघमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष रहने व्यवस्था छ । एसोसिएटबाट १९, जिल्लानगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहने छन् । प्रत्येक प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । यस्तै महासंघको पदाधिकारीमा निवर्तमान अध्यक्ष र पूर्व अध्यक्ष (विशिष्ट सदस्य) का रूपमा रहने व्यवस्था छ ।

वरिष्ठ उपाध्यक्षमा जित्न खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ । यदि वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले पहिलो चरणमा खसेको कुल मतको ५० प्रतिशत कटाउन नसकेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनः निर्वाचन हुन्छ । महासंघको निर्वाचनमा जिल्ला–नगरको मतभार ५० प्रतिशत, एसोसिएट सदस्य (द्विराष्ट्रिय समेत) को ३० र वस्तुगत सदस्यको २० प्रतिशत मतभार हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स