काठमाडौं । सरकारले यस वर्षको दशैंको लागि ७ करोड रुपैयाँको खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । विगतका वर्षहरूमा जस्तै खपत र उपलब्धतालाई मध्येनजर गरेर सरकारले यो वर्षको दशैँका लागि उक्त संख्याका खसीबोका ल्याउन लागेको हो ।
यस वर्षको दशैंका लागि सरकारले २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा बिक्री गर्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले बताइन् । ‘जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण भने खरिद मूल्यको आधारमा हुन्छ,’ उनले भनिन् ‘यो वर्ष च्याङ्ग्राको उपलब्ध कम हुने देखिएको छ ।’
घटस्थापनाको पछिल्लो दिनदेखि कम्पनीले खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु गर्ने भएको छ । ‘त्यसभन्दा अगाडी काठमाडौँ ल्याएर राख्ने ठाउँ नि हुँदैन,’ उनले भनिन् ‘त्यसैले घटस्थापनाको आसपास नै हामी खसीबोका तथा च्याङ्गा काठमाडौं ल्याउँछौं ।’
कम्पनीले गत वर्ष १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा उपत्यका ल्याएर बिक्री गर्ने योजना बनाएको थियो । तर, अन्तिममा च्याङ्ग्रा ल्याउन सकेको थिएन र १५ सय वटा मात्रै खसीबोका ल्याएको थियो ।
यद्यपि सरकारी स्वामित्वको कम्पनीले करिब ३ हजार खसीबोका बिक्री गरेपनि काठमाडौं उपत्यकामा मात्रै करिब ५० हजार खसीबोका काठमाडौँ उपत्यका खपत हुने देखिएको छ ।
पशुसेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले यस वर्षको दशैंमा करिव ५० हजार खसीबोका खपत हुने जानकारी व्यापारीले दिएको बताए ।
प्रति खसीबोका औसतमा २५ किलो तौलको हुने र ५० हजार खसीबोका कुल १२ लाख ५० हजार किलो खसीबोका बिक्री हुने देखिएको छ । हाल काठमाडौं उपत्यकामा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ छ । जसअनुसार, १२ लाख ५० हजार किलो खसीबोकाको औसत मूल्य ८१ करोड २५ लाख हुन आउँछ ।