काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल सर्वसम्मत चयन भएका छन् । परिसंघका पूर्वअध्यक्षहरुसहितको गभर्निङ काउन्सिल बैठकले वरिष्ठ उपाध्यक्षमा अग्रवालको नाम सर्वसम्मत चयन गरेको हो ।
अग्रवाल हाल परिसंघमा उपाध्यक्षमा थिए । उनलाई वरिष्ठ उपाध्यक्षको चयन भने गरिएको थिएन । गभर्निङ काउन्सिलबाट वरिष्ठ उपाध्यक्ष छनोट हुने र वरिष्ठ उपाध्यक्ष नै आगामी अध्यक्ष हुने व्यवस्था रहेको छ ।
वरिष्ठ उपाध्यक्षको आकांक्षीमा कृष्णप्रसाद अधिकारी पनि थिए। तर बैठकबाट अग्रवाल छानिएका हुन्। काउन्सिलको संयोजकमा इमिरेट्स प्रेसिडेन्ट विनोद चौधरी छन्।
परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । स्रोतका अनुसार दुई महिनापछि हुने परिसंघको साधारणसभापछि अग्रवाल अध्यक्ष हुनेछन्। परिसंघ अध्यक्षको कार्यकाल २ वर्ष हुन्छ । हालका अध्यक्ष विष्णुकुमार अग्रवालले २०७८ साउनमा पदभार ग्रहण गरेका थिए। उनको कार्यकाल सकिन अब केही महिनामात्रै बाँकी छ।
राजेशकुमार अग्रवाल आरएमसी ग्रुप डन्डी, सिमेन्ट, फलाम, खाद्य उद्योगका साथै बैंक तथा बीमा क्षेत्रमा आबद्ध छन्।