महासंघ संरचनामा ५० प्रतिशत हिस्सा बोकेको जिल्ला/नगरको समस्या सम्बोधन गर्न मेरो उम्मेद्वारीः अरुण सुमार्गी

उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला/नगर उपाध्यक्षका उम्मेद्वारी दिने घोषणा गरेका अरुण सुमार्गी सबैसँग मिल्न सक्ने र आफ्नो विषय प्रष्ट राख्न सक्ने व्यवसायी हुन् । महासंघ निर्वाचनमा जिल्ला–नगर उपाध्यक्षका लागि एक वर्ष अगाडिदेखि तयारी गरिरहेका सुमार्गी महासंघको पछिल्लो तीन कार्यकाल लगातार कार्यसमिति सदस्यमा विजय हुँदै आएका छन्। उनी अहिले महासंघको कृषि समिति सभापतिसमेत छन् । उपाध्यक्ष सुमार्गीसँग हाम्रोअर्थले महासंघको चुनाव, देशको अर्थतन्त्र र आन्दोलित उद्यमीका मुद्दाका विषयलाई लिएर गरिएको कुराकानीको सारः

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा तपाईले जिल्ला/नगर उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ ? महासंघ उपाध्यक्षमा तपाईको उम्मेद्वारी के का लागि ?

नेपाल उद्योग वाणिज्य महासंघ भनेको नेपाल सरकारको प्यारलल् (समानान्तर) पार्टन हो । संघीय व्यवस्था अनुसार सबै प्रदेश, जिल्ला र नगरमा सञ्जाल भएको । यो उद्यमी व्यवसायीहरूको छाता संस्था हो । यसको जन्म राणा शासनकालमै भएको हो ।

राणा शासनमा होस् या प्रजातन्त्र, बहुदलीय व्यवस्था तथा गणतन्त्र, सरकारसंग हातेमालो र साथ सहयोग गर्दै आएको संस्था हो । हामीले हिजो पनि कर तिरेका थियौं, रोजगारी सिर्जना गरेका थियौं, आज पनि कर तिरेका छौं र रोजगारी सिर्जना गरेर अर्थतन्त्र निर्माणमा साथ दिँदै आएका छौं ।

यो संस्थाको संरचनामा जिल्ला/नगर ५० प्रतिशतको स्टक होल्डर हो । ५० प्रतिशत स्टेक होल्डर जिल्ला/नगर सदस्यको भएको संस्थामा अध्यक्ष चाहिँ जिल्ला/नगरबाट बिरलै भएको पाइन्छ । मेरो उम्मेद्वारी जिल्ला/नगरमा रहेको ५० प्रतिशत स्टेक होल्डरको प्रतिनिधित्व हो । महासंघ संरचनामा जस्को बढी स्टेक छ उसैले संस्था हाक्ने अवसर पाउनु पर्छ भन्ने हो ।संस्था जस्को बढी स्टेक हुन्छ उसैले हाक्नुपर्छ भन्ने मान्यता र काम गर्न सक्छु भन्ने मेरो विश्वास पनि हो ।

महासंघ संरचनामा ५० प्रतिशत हिस्सा ओगटेको जिल्ला/नगर किन पछि पर्यो त ?

यसअघि जिल्ला/नगरका सदस्यलाई कसरी एकीकृत गर्ने, कसरी सशक्त बनाउने र बलियो बनाउने भन्ने चिन्तन हुन सकेन । नुन बिक्री गर्नेदेखि सुन व्यापारी अर्थात घर वहालमा दिएर खानेसम्मको समस्या महासंघले बुझ्नुपर्छ भन्ने हो । उद्यमीको पहिचान गरी यसको सम्बोधन कसरी गर्न सकिन्छ भनेर महासंघ लाग्नु पर्ने हो ।

जिल्ला/नगरलाई महासंघले कति न्याय दियो दिएको छैन, यी संस्थाहरू कसरी संस्थागत भइरहेका छन् भन्ने देखाउने मेरो उम्मेदवारीको पहिलो काम हुनेछ । मेरो उम्मेद्वारी जिल्ला नगर संघको नेतृत्वमा प्रारम्भिक फेजमा कसरी जाने, आगामी दिनमा कस्ता योजना वा रणनीति बनाउने वा महासंघको अन्तिम कुर्सीसम्म पुर्याउने अर्थात सरकारको उच्च तहमा गएर जिल्ला/नगरको पैरवी गर्न सक्ने बनाउन हो ।

जसरी अहिले ब्याजदरका विषयमा महासंघ मौन रहेको अवस्था छ । मोरङ तथा कञ्चनपुरका सदस्य आएर बालुवाटारको किनारामा बसेर जुन प्रेसर सिर्जना गरे, त्यस्तो अवस्थामा पनि महासंघले कुनै सम्बोधन गर्न सकेन । जिल्ला/नगरमा बैंकको किस्ता तथा ब्याज तिर्न नसकेर साना उद्यमी व्यवसायी झुण्डिएर मर्ने अवस्था आएको छ । यस विषयमा पनि महासंघले केहि पौरवी गरेन । किन यस्तो भयो त भन्दा रियल नेता त्यहाँबाट आएनन् भन्ने हो ।

पैसा र पावरको बलमा, गोल कुरेर गोल हानेर मानिसलाई महासंघले अघि बढाइरहेको अवस्था छ । यसलाई चिर्नका लागि मैले उम्मेदवारी दिएको हुँ । यो भनेर मैले कसैलाई आक्षेप वा दोष लगाउन भने खोजेको होइन । मेरो चासो र चिन्ता भनेको जिल्ला /नगरका उद्यमीले महासंघ नेतृत्व हाक्न नपाउँदा हाम्रा मुद्दा ओझेलमा परे भन्ने मात्रै हो ।

यद्यपि महासंघमा सुदृढीकरण, शुद्धीकरणको आवश्यकता छ । महासंघ सुदृढीकरणको अभियान मेरो उम्मेद्वारीको अर्को पाटो हो । नेपाल उद्योग वाणिज्य महासंघमा के के सुधार्नु पर्ने खाँचो छ । त्यो सुधार्नु पर्ने विषयमा ५० स्टेक होल्डरले किन नेतृत्व पाएन भन्ने हो । यसको जरैदेखि पहिचान गर्न महासंघको त्यो नेतृत्वमा पुग्न सकेमात्रै सम्भव हुने मैले देखेको छु । महासंघ नेतृत्वमा पुगेर जिल्ला/नगरको नेतृत्व आगामी दिनमा पनि पुग्न सक्ने बनाउन महासंघसभित्र शुद्धीकरण गर्ने मेरो उद्देश्य हो ।

जिल्ला जिल्लामा सबै उद्यमी व्यवसायी आन्दोलनमा छन्, यसमा महासंघबाट खासै सहयोग देखिएन । महासंघ नेतृत्वसँग चिडिएका उद्यमीलाई कसरी सन्तुष्ट बनाएर आफू त्यो नेतृत्वमा पुग्नु हुन्छ ?

अहिलेको मेरो दौडबाटै मतदाताले केहि साहानुभूति महसुश गर्नु भएको छ। सरकारलाई सत्ता समीकरण मिलाउन नै फुर्सद छैन । हामीलाई परेको समस्याको समाधान हामी आफैले खोज्ने हो । अहिले पीडामा भएका व्यवसायीको छेउमै बसेर उनीहरूको समस्या समाधानका लागि सरकारले अब ल्याउने नीतिबाट सम्बोधन गर्न लगाउने हो । विजनेश व्यवसायलाई प्रमोट गर्ने गरी सरकारसँग डाइलग गर्ने हो ।

देशव्यापी रुपमा रहेको जिल्ला/नगरको समस्यालाई सुनिदिने हुनुपर्यो । आगामी दिनमा जिल्ला/नगरमा सँगसँगै हुर्केको बढेको मान्छे त्यो जान सक्यो भने यात्रा सहज हुन्छ । समस्याको निकास निकाल्न सकिन्छ । त्यसो भन्दैमा मैले म जाने वित्तीकै सबै ठिक गर्छु भन्ने होइन । मैले नजिकबाट जिल्ला/नगरको साना साना समस्यादेखि ठूला समस्यासम्म बुझेको छु भनेको हो ।

चर्को ब्याजका विरुद्धमा सडकमा उत्रिएका उद्यमीलाई राहत महसुश गराउन विद्यमान ब्याज नीतिलाई कसरी लैजादा फाइदा हुन्छ । त्यहि शिराबाट काम सुरु गर्नुपर्छ । सरकार निजी क्षेत्रको सहकार्य आजको आवश्यकता हो । नकि भाषणमात्रै गर्ने हो ।

अहिलेकै समस्यालाई हेर्ने हो भने मोरङ उद्योग वाणिज्य महासंघले चर्को ब्याजदरको मुद्धा बोकेर आयो । यस विषयमा प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ । विश्वासको मत लिइसकेपछि यो विषयमा प्रवेश गरेर सम्बोधन गर्छु भन्नु भएको छ ।

उद्यम व्यवसाय गर्नको लागि चर्को ब्याजदरको मात्रै समस्या हो कि अन्य पनि छन् ?

उद्योगीका धेरै समस्या छन् । ब्याज त तत्कालका लागि मात्रै हो । कोभिड आयो, यसले उद्योग व्यवसायका साथै देशकै अर्थतन्त्र थिलोथिलो बनायो, त्यसपछि रसिया र युक्रेनको युद्धले तेलको भाउदेखि सुनको भाउसम्म बढ्दा बजार आकासिएर माथि पुग्यो । खाद्यान्नको मूल्य पनि सोही अनुरुपमा बढ्यो । तर, मानिसको क्रय शक्ति चाहिँ घटेर गयो अर्थात आम्दानीको स्रोत घटेर गयो । आम्दानी कम र मूल्य बृद्धिहुँदा बजारमा त्यतिकै क्राइसिस आइरहेकोछ । ब्याजदरमात्रै होइन, मेरो उम्मेद्वारीको एजेण्डा ।

महासंघको ५६ वर्षे इतिहासलाई हेर्ने हो भने हामीले सरकारको सबै काल खण्डमा सहयोग गरेको पात्र हौं । हामी उद्यमी जसले राज्यलाई कर तिर्छ, रोजगारी सिर्जना र विकास गर्छ, त्यस्ता उद्यमीको सरकारले अहिलेसम्म प्रोटोकल तय गर्न सकेको छैन । हिजो स्थानीय सरकार नहुँदा त्यो स्थानीय तहको काम गर्न सरकारले हामीलाई नै जिम्मा दिएको थियो ।

देशमा जब जब संकट वा समस्या आउँछ हामी उद्यमी व्यवसायी अघि अघि हुन्छौं । कोभिड आयो हामी नै माक्स र सेनिटाइजर बोकेर कुदिरहेका हुन्छौ । आगो लागि भयो सरकारभन्दा अघि हामी नै पुग्छौं । सरकारलाई संकट पर्दा हामीले नै सहयोग गर्छौ ।

त्यो पात्रको प्रोटोकल के हो त आजको दिनमा, त्यसको वारेमा पनि सरकारले बुझिदिनु पर्यो भन्ने हो । त्यो भएमा जिल्लामा बसेर काम गर्न सजिलो हुन्छ । अन्य देशमा राज्यलाई कर तिर्नेलाई कहाँ र कसरी राखेको हुन्छ भन्ने विषयमा पनि हेर्न र बुझ्न आवश्यक छ ।

प्रधानमन्त्री वा कुनै मन्त्री विदेशी कन्फ्रेन्समा जाँदा हाम्रा अध्यक्ष उपाध्यक्षलाई छेउमा राखेर लैजानु हुन्छ । त्यत्रो हैसियत हुँदा पनि जिल्ला/नगरमा यसको कुनै अनुभूति हुन पाएको छैन । हाम्रो प्रोटोकल तय नहुँदा हामीलाई समाजमा बसेर काम गर्न असहज भएको अवस्था छ ।

जहाँ राम्रो सम्बन्ध त्यहाँ हामीलाई मेयर भन्दा माथिल्लो प्रोटोकलमा राखिएको हुन्छ, सम्बन्ध राम्रो नभएको ठाउँमा वडा अध्यक्षभन्दा तल राखिएको हुन्छ । यसका लागि पनि हामी उद्यमी व्यवसायीको प्रोटोकल सरकारले तय गरिदिनु भन्ने हो ।

उद्योग सञ्चालनको लागि प्रदेश सरकारसँग कसरी काम गर्न सकिन्छ । हामीले प्रदेश सरकारसँग मिलेर धेरै उद्यम व्यवसायका विषयमा सिक्ने सिकाउने काम गर्न सक्छौं । जिल्लाको उद्योग वाणिज्य संघ दिगो रुपमा चलाउन के के गर्ने ?

जिल्ला जिल्लामा हुने मेला महोत्सवलाई वार्षिक क्यालेण्डरमा राख्नु पर्छ । जिल्ला जिल्लामा हुने यस्तो महोत्सवमा पर्यटन जोडिएको हो कि, उद्योग जोडिएको हो कि या प्रवद्र्धन जोडिएको हो, यस विषयलाई राज्यले एकीकृत गरी एकाकार गरिदिनु पर्छ भन्ने हो । घरेलु (गुन्द्रुक, अचार, हस्तकलालगायतका अन्य धेरै उत्पादन) उत्पादनलाई स्वदेशी र विदेशी मार्केटसम्म पुर्याउन सहजीकरण गरियो भने यसले अर्थतन्त्रमा ठूलो टेवा दिन्छ ।

यी सबै विषयको सम्बोधन गर्ने वातावरण सिर्जना गर्न साथीहरूले तपाई अघि बढ्नोस् भन्नु भएको छ । त्यसैले मैले उम्मेदवारी दिएको हुँ । हु न त साथीहरूले योभन्दा अगाडिको चुनावमा पनि साथ दिनु भएको थियो । तर, त्यतिबेला आफूभन्दा सिनियर र अनुभवीलाई साथ दिए र म अघि बढिन ।

त्यतिखेर तपाई ब्याक हुनु भयो नि कि ?

म ब्याक भएको होइन, आफूभन्दा सिनियरलाई सम्मान गर्दै त्याग गरेको हुँ । तपाईको अझ धेरै समय छ, पछि पछि अवसर मिल्छ , बन्न सक्नु हुन्छ भनेपछि मैले स्याक्रिफाइस गरेको हुँ ।

अर्थतन्त्र निर्माणमा ७० प्रतिशत अभिभारा बोकेको निजी क्षेत्रले उद्यमीको समस्या समाधानमा लाग्ने हो कि आन्दोलन गरेर बैंक बन्द गर्न पत्राचार गर्ने सम्मको कार्यमा अल्झिने हो ?

यस विषयमा विगतलाई सम्झनु पर्छ । हामीले चक्का जाम गरेर टायर बालेर बन्द गर्ने भनेका होइनौ । हामीले चाह्यौ भने के गर्न सक्छौं भनेर राज्य सत्तामा बसेका मान्छेलाई सांकेतिक रुपमा देखाउन खोजेका हौं । देशमा ‘रूलले होइन हुलले ’ काम गर्ने अभ्यासको विकास भएको छ ।

हामीले देश झण्डै झण्डै क्राइसिस हुन लागेको बेलामा बसन्तपुर डबलीमा बसेर प्रेसर दिएर वार्ताको वातावरण तयार पारी बन्द, चक्का जामको अभ्यासलाई सधैका लागि बन्द पनि गर्न लगाएका छौं नि । अहिले हामीले धर्नामात्रै गरेका हौं, कसैको शिशा फोरेनौ, हामी डिपोजिट नगर्न सक्छौं है मात्रै भनेका हौं । अर्थतन्त्रलाई असर पर्ने गरी हामीले केहि पनि गरेनौं । मात्र हाम्रो आवाज देश हाक्नेसम्म पुगोस भन्ने मात्र हो ।

तपाईले अघि दिनु भएको अभिव्यक्तिअनुसार अहिलेसम्म महासंघको नेतृत्वमा राइट प्रर्शन पुगेनन् भन्ने हो ?

होइन, महासंघ संरचनामा ५० प्रतिशत हिस्सा बोकेको जिल्ला/नगरका प्रतिनिधि नेतृत्वमा पुगेनन् भन्ने मात्रै हो ? उनीहरू नेतृत्व तहमा नपुग्दा महासंघ जसरी गाइड हुनु पथ्र्यो त्यसरी नै गाइड हुन पाएन । जिल्ला/नगरको साना साना समस्यादेखि ठूला समस्यासम्मको सम्बोधन हुन गाह्रो भयो भन्ने हो ।

जिल्ला/नगरको मर्म र अर्थतन्त्र निर्माणमा यसले खेलेको भुमिकलाई सरकारसम्म जस्ताको तस्तै पुर्याउन सकिएन भनिएको हो । यसको पैरवी गर्न अर्थात जिल्ला नगरको आवाजलाई बुलन्द बनाउन खोजिएको हो । जिल्ला नगरको प्रोटोकल खोजिएको हो । यी सबैलाई उचित न्याय दिन जिल्ला नगर बुझेको मान्छे भए अझ बढी सहज हुन्छ भनिएको हो ।

पछिल्ला निर्वाचनमा महासंघमा प्यानल घोषण गरेरै निर्वाचनमा उम्मेदवारी दिने अभ्यासको विकास भयो । तपाईले किन अन्जन श्रेष्ठको प्यानललाई रोज्नु भयो ?

म घर बदलेर हिड्ने मान्छे होइन । म हिजो पनि संस्थापन पक्षसँग थिए र अहिले पनि संस्थापन पक्षसँग नै छु । संस्थापन पक्षले बोकेर हिडेको टिममा नै छु । पूर्व अध्यक्षहरू जहाँ रहनु भएको छ म पनि त्यहि टिममा छु । अन्जनको टिममा किन भन्ने प्रश्नमा अन्जनजी युवा हुनुहुन्छ । इनरजेटिक हुनुहुन्छ । सबैलाई समेटर लैजान सक्ने खु्बी उहाँमा छ । टिम स्प्रीट मिल्छ । त्यसैले उहाँको टिमबाट मैले उम्मेदवारी दिएको हुँ ।

अन्त्यमा
महासंघको गरिमा जोगाउन जे जे गर्न सकिन्छ त्यहि त्यहि गर्नुपर्छ भन्ने हो । व्यक्तिवादी भएर होइन, एजेण्डा र भिजन हेरेर भोट खसाल्न म मेरो जिल्ला/नगरका साथीहरूलाई आग्रह गर्छु । चुनाव भनेको हार जित भइनै हाल्छ । चुनाव सकिएको भोलिपल्टदेखि महासंघ र यसमा आवद्ध उद्यमी व्यवसायीको हक हित र समस्या समाधानको लागि काम गर्छु । त्यसैले कसैको स्वार्थमा नपरी योग्य र आफ्नो एजेण्डा बोक्न सक्ने उम्मेद्वारलाई विजय गराउन म सम्पूर्ण मतदातालाई आग्रह गर्न चहान्छु ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स