काठमाडौं । उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ यतिबेला चुनावी सरगर्मीले तातेको छ । आगामी चैत अन्तिम साता हुने महासंघ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
महासंघमा अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिँदैछ । निर्वाचनपछि महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल बन्दैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको वैधानिक व्यवस्था छ ।
महासंघ चुनावको चुनाबमा वरिष्ठ उपाध्यक्ष बन्न यसपाली ४ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र हालका उपाध्यक्ष त्रय दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई तयारी गरेका छन् । अहिलेसम्मको तयारी अनुसार यी चार जना वरिष्ठ उपाध्यक्ष पदका लागि भिड्दै छन् ।
पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई महासंघ हाक्न सक्ने सक्षम पात्रको रुपमा लिइएको छ । उनलाई वरिष्ठ उपाध्यक्ष बनाउन महासंघका एक समूह लागि परेको छ । उनीसँगै महासंघमा लामो समयदेखि काम गरेका दिनेश श्रेष्ठ पनि महासंघको वरिष्ठ उपाध्यक्षमा दावेदार हुन् । उनी जिल्ला नगरमा राम्रो पकड भएका व्यक्ति हुन् । महासंघको निर्वाचनमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहन्छ । उनले त्यो क्षेत्रमा पुरा सपोर्ट देखेका छन् । उनी अहिले पनि महासंघ जिल्ला नगर उपाध्यक्ष हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा अत्यधिक मत ल्याएर आफू वरिष्ठ उपाध्यक्ष बन्ने उनको दावी छ
महासंघ वरिष्ठ उपाध्यक्षका अर्का दावेदार अञ्जन श्रेष्ठ वस्तुगतमा पकड भएका उम्मेदवार मानिन्छन् । नाडा अटोमोबाइल्स एसोसियसन नेपाल र अन्य प्रभावशाली वस्तुगत संघहरूमा उनको राम्रो पकड छ । बस्तुगतका साथै जिल्ला नगरबाट समेत अञ्जनले राम्रो मत ल्याउने उनको विश्वास छ ।
अर्का दाबेदार रामचन्द्र संघाई एसोसियटमा उत्तिकै बलिया उम्मेदवार मानिन्छ । मारवाडी समुदायबाट सञ्चालित कर्पोरेट हाउस (एसोसियट सदस्यहरु)को मत निर्विकल्प रुपमा आफूलाई आउने विश्वाससहित उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बुझिएको छ । उनले वरिष्ठ उपाध्यक्षको तयारी थालिसकेका छन् । जिल्ला नगर र वस्तुगत संघका अध्यक्षहरुलाई केही दिन अगाडि कमलपोखरीस्थित आफ्नो घरमा बोलाएर ‘कक्टेल डिनर’ नै गराएर भोट मागिसकेका छन् ।
महासंघको निर्वाचन आउन करिब १ महिला बाँकी हुँदा वरिष्ठमा उम्मेदवार बन्ने तयारीमा जुटिरहेका उमेशलाल र अञ्जनले मात्रै टिम बनाउन सकेका छन् । उमेशलालसँग जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसियट उपाध्यक्षका उम्मेदवार छन् ।
महासंघको चुनावमा धेरै मतभार रहेको जिल्ला नगर उद्योग वाणिज्य संघ (५० प्रतिशत मतभार) र वस्तुगत संघहरु (३० प्रतिशत)को मत तान्ने दाउमा उम्मेदवारहरू छन् ।
कुन समूहबाट को को उपाध्यक्षको उम्मेदवार ?
अञ्जनको टिममा पनि जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसियट उपाध्यक्षका उम्मेदवार छन् । दिनेश श्रेष्ठले पनि आफूसँग टिम रहेको बताएका छन् । तर, संघाई भने खाली छन् । एसोसियट उपाध्यक्षमा आफ्नो टिमबाट साहिल अग्रवाल उम्मेदवार रहेको संघाईको दावी छ । साहिल अग्रवाल भने अञ्जनको टिमबाट घोषित एसोसियट उपाध्यक्षका दावेदार हुन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अन्जन श्रेष्ठको समूहबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, एशोसिएट समूह उपाध्यक्षमा शाहिल अग्रवाल, वस्तुगत समूहबाट उपाध्यक्ष मनिषलाल प्रधान उम्मेद्वार प्रारम्भिक तयारी भएको छ ।
यस्तै, उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसियततर्फको उपाध्यक्षमा भरतराज आचार्य र वस्तुगत समूहको उपाध्यक्ष पदमा हेमराज ढकाल उम्मेद्वारार बन्ने बताइएको छ । यद्यपि दिनेश लाल श्रेष्ठले भने आफै टिम बनाएर आफूनै वरिष्ठ उपाध्यक्षको उम्मेद्वार बन्ने बताइरहेका छन् । जिल्ला नगर उपाध्यक्षमा नरेन्द्र कुमार खड्का, सुरकृष्ण बैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचनले पनि आकांक्षा राखेका छन् ।
रामचन्द्रको समूहबाट भने पदाधिकारीका उम्मेद्वारबारे अहिलेसम्म प्रारम्भिक खाका आएको छैन । उनले दुई जना उपाध्यक्ष अन्य समूहबाट र १ जना माडवाडी समूहबाट लिएर टिम बनाउने बुझिएको छ । महासंघले चैत २८ गते महाधिवेशनको मिति तोकेको छ । आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित ६४ सदस्यीय कार्यसमितिको लागि निर्वाचन हुँदैछ ।