निर्देशिका जारी भएको ८ वर्षपछि कडा रुपमा प्रस्तुत भयो उद्योग तथा वाणिज्य मन्त्रालय, स्वेदशी वस्तु प्रयोग गर्न काट्यो पत्र(पत्रसहित)

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालय यो पटक कडा भएर प्रस्तुत भएको छ । मन्त्रालयले सरकार मातहतका सबै निकायलाई स्वदेशी उत्पादनका वस्तु मात्रै प्रयोग गर्न परिपत्र गरेको छ । देशमा व्यापार घाटा दिन प्रतिदिन बढ्दै गएको र यसले विदेशी विनिमय सञ्चितिमा समेत असर पारेकोले मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

यसअघि निर्देशिका जारी गरेर १५ प्रतिशत विदेशी वस्तुको तुलनामा नेपाली वस्तु महँगो भएपनि प्रयोग गर्न निर्देश गरेको थियो । त्यो निर्देशिका जारी भएको ८ वर्षपछि बल्ल मन्त्रलायले सरकारका सबै निकायलाई परिपत्र गरी स्वदेशी वस्तु उपयोग गर्न निर्देश गरको हो ।

शुक्रबार सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले एक सर्कुलर जारी गरेको हो । सरकार, मन्त्रालय, आयोग र सबै सार्वजनिक कार्यालयहरुलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

सबै सार्वजनिक निकाय तथा कार्यालयले आयोजना गर्ने कार्यक्रममा अतिथि सत्कार, नास्ता र खाजामा अनिवार्य रुपमा नेपाली नै उत्पादन प्रयोग गर्न र सार्वजनिक खरिद पनि १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै गर्न पुनःस्मरण गराएको छ ।

‘सार्वजनिक निकायले आफ्नो कार्यालयमा प्रयोग हुने स्टेसनरी, फर्निचर, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा सकेसम्म नेपाली उत्पादन नै खरिद गर्नुपर्ने छ,’ मन्त्रालयले भनेको छ, ‘उपलब्ध भएसम्म नेपाली उत्पदन नै प्रयोग गर्न नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने छ ।’

मन्त्रालय मातहतको सार्वजनिक खरिदमा पनि विदेशी मालसामानभन्दा नेपालमा उत्पादित वस्तु १५ प्रतिशत महँगो भए नेपाली खरिद गर्नुपर्ने पर्ने परिपत्रमा भनिएको छ । यस्तो व्यवस्था सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ मा पनि भएको मन्त्रालयले स्मरण गराएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स