छ महिनामा ४३५ उद्योग दर्ता

दमौली । चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव २०७९/८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् ।

सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिए । तीमध्ये ३४ उत्पादनमूलक, दुई सय ६७ कृषि तथा वन पैदावर, एक पूर्वाधार, ७० पर्यटन, एक सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् ।

जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उनको भनाइ थियो । ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्’, प्रमुख कुँवरले भने, ‘यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ ।’ कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा दुई सय ९२ नयाँ व्यवसाय दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका थिए । यसैगरी आव ०७७/७८ मा दुई हजार एक र २०७६/७७ मा तीन हजार पाँच सय १५ उद्योग थपिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका एक सय ६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजका लागि निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ ।

एक लाखसम्म पूँजी भएको उद्योगले एक हजार एक सय, तीन लाखसम्म पूँजी भएको उद्योगले तीन हजार एक सय, पाँच लाखसम्म पूँजी भएको उद्योगले छ हजार एक सय, ५० लाखसम्म पूँजी भएको उद्योगले १२ हजार एक सय, एक करोडसम्म पूँजी भएको उद्योगले २० हजार एक सय, पाँच करोडसम्म पूँजी भएको उद्योगले ३० हजार एक सय र पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले ५० हजार एक सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स