व्यवसाय र आयआर्जनलाई सुरक्षित बनाउन नसके जनताको निक्षेप सुरक्षित हुनः महासंघ

काठमाडौं । व्यवसायीहरूले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन लगायतका व्यवसायी संस्थाले आज माइतीघरमा सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न माग गर्दै सडक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए । उनले बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरू सडकमा आउनुपरेको भन्दै तत्काल सरकारले बैंकको ब्याजदर एकल अङ्कमा ल्याउनुपर्ने बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले सरकारले व्यवसायीलाई परेको समस्या समाधानमा लाग्नुपर्ने बताए । उनले असहज अवस्था भएकाले व्यवसायीले लिएको कर्जाको किस्ता तिर्न समय थप गर्न आग्रह गरे । अध्यक्ष कार्कीले बैंकबाट ऋण लिने प्रत्येक व्यक्तिको व्यवसाय र आयआर्जनलाई सुरक्षित बनाउन नसके जनताको निक्षेप सुरक्षित हुन नसक्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले बैंकले उद्योगी व्यवसायीबाट चर्को ब्याज असुलेर नाफामा कमाएर बसेको बताए । उनले यातायातलगायत सबै क्षेत्रको एउटै समस्या भएकाले बैंकको चर्को ब्याजदर र आतंकको विरुद्धमा आन्दोलनमा सहभागी हुनुपरेको स्पष्ट पारे । नेपालको यातायात क्षेत्र मुलुकको अर्थतन्त्र चलायमान बनाउने मेरुदण्ड भएको उनको भनाइ थियो ।

नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले राज्यलाई साना व्यवसायीले रोजगारीलगायतमा योगदान गरे पनि ठूला निश्चित व्यवसायीले राज्यबाट फाइदा लिएको बताए । उनले साना व्यवसायीहरूले शरीरमा आगो लगाएर आत्मदाह गर्दासमेत राज्य मौन बस्नु राम्रो नभएको बताए ।

अध्यक्ष घिमिरेले सरकारलाई साना तथा मझौला उद्योगको ठूलो योगदान हुँदाहुँदै पनि सबैभन्दा पीडित साना तथा मझौला व्यवसायी हुनुपरेको गुनासो गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स