खाने तेलको मूल्य बढ्नुको खास कारण यस्तो रहेछ

काठमाडौं । खाने तेलमा भएको मूल्यवृद्धि सम्वन्धमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

यस संघमा आवद्ध रहेका २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल लगायत उत्पादन गरी स्थानिय वजारमा साथै निकाशी समेत गर्दै आइरहेका छन ।

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात हुने गर्छ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय वजारवाट आयात गर्नुपर्दा अन्तराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मूल्य निर्धारण हुने गर्दछ ।

विगत करीव २० महिना देखी नै विश्वमा फैलिएको महामारी कोभिड–१९ तथा कु्रड तेल उत्पादन हुने देशहरुमा भएको भीषण सुख्खाको कारण र अन्य भौगोलिक राजनीतिक द्वन्द्वले गर्दा समेत खाने तेलको मुल्यमा अस्वाभाविक रुपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मूल्यवृद्धि रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२० अप्रिलमा अर्जेन्टिनाबाट आयात हुने क्रुड सोयाविनको प्रति मेट्रिक टन ५८९ अमेरिकी डलरको रहेको थियो भने यूक्रेनबाट आयात हुने क्रुड सनफ्लावरको प्रति मेट्रिक टन ७०४ अमेरिकी डलर थियो ।

विगत १ वर्षमा असामान्य वृद्धि भई २०२१ मे मा अर्जेन्टिनाबाट आयात हुने क्रुड सोयाविनको प्रति मेट्रिक टन १३६३ अमेरिकी डलर पुगेको छ भने यूक्रेनबाट आयात हुने कु्रड सनफ्लावरको प्रति मेट्रिक टन १४९५ अमेरिकी डलर पुगेको छ । उक्त मूल्य पुष्टाई युरोपबाट प्रकाशीत हुने आयल वल्र्डको सन् २०२१ मे २८ को डकुमेन्टले प्रष्ट पार्दछ ।

तत्पश्चात २०२१ जुलाई २ मा प्रकाशीत आयल वल्र्ड रिर्पोटमा एक्कासी बजार तल गई एक महिनामा प्रति मेट्रिक टन १०९५ अमेरिकी डलर कु्रड सोयाविनको तेल र प्रति मेट्रिक टन ११६० अमेरिकी डलर कु्रड सनफ्लावरको मूल्य भएको थियो । यस प्रकार अन्तराष्ट्रिय बजारमा एक्कासी मूल्य घटदा तर उद्योगहरुसँग उच्च मूल्यको कच्चा पदार्थको मौज्दात हुँदा हुदै अन्तराष्ट्रिय वजारमा मूल्य घटेकोले यस संघका
सदस्य उद्योगहरुले वाणिज्य विभागको समन्वयमा अन्तर्राष्ट्रिय बजारको परिपाटि अनुसार नै क्रमशः स्थानिय वजारमा समेत मुल्य घटाई आफ्ना उत्पादनहरु विक्री वितरण गरेको थियो ।

फेरी पनि घटेको कच्चा पदार्थ किन्न नपाउँदा नपाउदै अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय बजार करीब प्रति मेट्रिक टन २०० देखि २५० अमेरिकी डलरसम्मको वृद्धि भएको थियो । जस अनुसार क्रमिक रुपमा त्यसको असर स्थानिय बजारमा समेत पर्न गएको छ । आयल वल्र्ड रिर्पोटअनुसार २०२१ अगष्ट २० को प्रकाशीत रिपोर्टमा प्रति मेट्रिक टन १३२७ अमेरिकी डलर कु्रड सोयाविनको तेल र प्रति मेट्रिक टन १३३० अमेरिकी डलर कु्रड सनफ्लावरको मूल्य भएको थियो ।

प्रशोधित खाने तेल उद्योगहरुको स्थिति

खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चा पदार्थको मूल्यमा भएको दोब्वर भन्दा वढि वृद्धिका कारण गत वर्षमा महशुल सरदर २० रुपैयाँ प्रति लिटर रहेकोमा हाल सरदर ४५ रुपैयाँ भन्दा बढी पुगिसकेको छ ।

कोभिड–१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मुल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोव्वर हुन पुगेकोले अन्तर्राष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खानेतेलको मुल्यमा प्रति लिटर सरदर २० देखि २५ रुपैयाँसम्म वृद्धिको असर पर्न गएको छ ।

सहायक कच्चा प्रदार्थ र प्याकिङ सामाग्रीमा प्रयोग हुने सामानको मूल्य समेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ ।

हालसम्म पनि चलन चल्तिको अन्तराष्ट्रिय मुल्य अनुसारको नेपालको मूल्य अझै परिमार्जित हुन सकेको छैन ।

नेपालमा खाने तेलको कच्चा पदार्थको उत्पादन÷उपलव्धता शुन्य नै रहेको हुँदा यहँका उद्योगहरुको कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकवाट आयात गर्नु परेकोले अन्तराष्ट्रिय वजारमा कच्चा पदार्थमा भएको मुल्यको उतारचढावले गर्दा स्थानिय वजारको मूल्य समेत सोही अनुसार निर्धारण गर्नुपर्ने वाध्यता रहेको विज्ञप्तिमा लेखिएको छ ।

साथै यस संघका सदस्य उद्योगहरुवाट कुनै प्रकारको कृतिम अभाव सिर्जना नगरी आपुर्ति अवस्थालाई सुचारु राखी कृतिम मूल्यवृद्धि नगरेको दावी गरेको छ । आउँदो चाडपर्वमा समेत खानेतेलको पर्याप्त मौज्दात रहेको हुँदा आपुर्तिमा कुनै कमी नहुने संघले प्रतिवद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स