काठमाडौं । वर्ल्डकप २०२२ को लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारहरु मध्य कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासी कामदारहरुलाई कोका-कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वल्र्डकप हेर्ने अवसर प्रदान गरेको छ ।
आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशीएका नेपालीहरुको निःस्वार्थपन र अथक प्रयासको सम्मान स्वरुप कम्पनीले उक्त पहल लिएको कोका-कोला नेपालले जनाएको छ । फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा वल्र्डकप हेर्न पाउनु आफुहरुको लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसको लागि कोका–कोला प्रति आभारी रहेको कुरा व्यक्त गरेका छन् ।
यसबारेमा बोल्दै कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका-कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुको लागि केही गर्न चाहन्थ्यौं । उनीहरुको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी वहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं । उनीहरुले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिए होला भन्ने हामी आशा गर्दछौँ ।’
कोका-कोलाले यो भन्दा अगाडि पनि आफ्नो दसैं क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरुलाई कतार-नेपाल दुईतर्फी हवाइ टिकटको व्यवस्था गरिदिएको थियो जसले गर्दा उनीहरुले निकै लामो समयको अन्तराल पछि आफ्नो परिवारसँग बसेर दसैं तिहार मनाउने अवसर पाएका थिए ।