स्वदेशी उत्पादनलाई सहुलियत दिन सकारात्मक छौँ: उद्योग सचिव

काठमाडौं । उद्योग सचिव डा. तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताएका छन् ।

औद्योगिक र लगानी पूर्वाधार तथा योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उहाँले उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण गर्ने मन्त्रालय रहेको र उद्योगीको समस्या समाधानमा प्रतिबद्ध रहेको बताए । उनले आगामी कम्तीमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको जानकारी दिए ।

आठौँ उद्योग दिवस, २०७९ को अवसर पारेर नेपाल उद्योग परिसंघले आज आयोजना गरेको अन्तक्र्रियामा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले परिसंघले औद्योगिक विकासका लागि प्रभावकारीरूपमा आफ्ना गतिविधिलाई अगाडि बढाउँदै आएको बताए ।

उनले उद्योग क्षेत्रको विकासका लागि गहन अध्ययन गरेर परिसंघ अगाडि बढ्दै आएको भन्दै सरकारले निजी क्षेत्रबाट यस्तै प्रयासको अपेक्षा गरेको उल्लेख गरे । निजी क्षेत्र र सरकार मिलेर नै औद्योगिक विकास गर्न सकिने उनको भनाइ थियो ।

अन्तक्र्रियामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन आग्रह गरे । भारत, अष्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान सञ्चालन भइरहेकामा नेपालमा परिसंघको अग्रसरतामा मेक इन नेपाल अभियान सञ्चालन भइरहेको छ । मेक इन नेपाल अभियानमा आबद्ध उत्पादनलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए ।

उद्योग मन्त्रालय उद्योगीको फोकल मन्त्रालय बन्नुपर्नेमा जोड दिनुहुँदै उनले त्यसले उद्योगको महत्त्व बढाउने र उद्योगीको समस्या समाधानमा अन्य मन्त्रालय एवं सरोकारवाला पक्षसँग समन्वय गर्न सहयोग गर्ने बताए ।

उनले नीतिगत स्थिरतामा जोड दिनुहुँदै निश्चित अवधिसम्म नीति परिवर्तन नहुने गरी उद्योगी, लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने बताउनुभयो । परिसंघको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुको आयात निरुत्साहित गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स