चौधरी ग्रूपले भित्र्यायो तरल युरिया मल, के अब युरिया मलको अभाव टर्न सक्छ ?

काठमाडौं । चौधरी ग्रूपले तरल युरिया मल नेपाल भित्र्र्याएको छ । सीजी एग्रोले नेपालमा नानो युरिया तरल मल भित्र्याएको एक कार्यक्रम गरेर जानकारी दिएको छ । भारतको आईएफएफसीओ सहकारी संस्थाले उत्पादन गरेको मल सीजीले ल्याएको हो । नेपालमा हरेक वर्ष बाली लगाउने सिजनमा युरिया लगायतका रासायनिक मल अभाव हुँदै आएको छ । सीजीले उक्त मल नेपाल भित्र्याएपछि केहि सहज हुने बुझिएको छ ।

नानो युरियाले कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदुषण रोक्न किसानको आम्दानी बढाउन सहयोग पुग्ने कम्पनीले बताएको छ । यसको नाम नेपालमा सीजी आईएफएफसीओ नानो युरिया हुनेछ । यसले अन्नबाली, दाल, तरकारी, चिया उखु, फलफूल औषधिका बोटबिरुवामा छर्कन सकिने छ ।

कम्पनीका अनुसार नानो प्रविधि नानो स्तरमा परमाणु र अणुहरू हेरफेर गरेर संरचना, उपकरण र प्रणालीहरु डिजाइन, उत्पादन गर्न समर्पित विज्ञान हो । नानो प्रविधीको खाद्य र कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको छ। यस प्रविधिको प्रयोग रासायनिक मलको उत्पादनमा समेत गरिएको छ ।

नानो प्रविधिबाट निर्मित मलले परम्परागत रासायनिक मलको मात्रा घटाउँदछ । यसले रिलिज प्रोफाइलहरू सुधार गर्दै अवशेष बढाउँछ जसको दिगो रुपमा आर्थिक र वातावरणीय फाइदा रहेको छ । एक नानो कण वा अल्ट्राफाइन पार्टिकल सामान्यत कुनै वस्तुको एक कणको रुपमा बुझिन्छ जुन व्यासमा १ देखि १०० नानो मिटरको बिचमा हुन्छ ।

नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल रहेको कम्पनीको भनाइ छ । यसले विरुवाको उचित वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रमुख पोषक तत्व नाइट्रोजन प्रदान गर्दछ । परम्परागत युरियाको जमिनमा छर्ने गरिएपनि नानो युरिया भने ‘स्पे्र’ गरेर प्रयोग गरिन्छ ।

परमपरागत दानादार युरियालाई माटोमा छर्ने गरिन्छ भने तरल नानो युरिया पानीमा मिसाई बिरुवाको पातमा छर्कने गरिन्छ । झण्डै २.४ मिलि नानो युरियालाई १ लिटर पानीमा मिसाएर छर्न सकिने कम्पनीले बताएको छ ।

विरुवाको वृद्धि हुने महत्वपूर्ण चरणहरूमा छर्किएपछि बिरुवाका कोषहरूले धारा चाँडै सोस्ने गर्दछन् । यो पातका स्टोमाटाद्वारा प्रवेश गर्दछ । त्यस पश्चात खाली तथा आवश्यक ठाउमा युरिया स्थानान्तरण गर्ने गर्दछ ।

नानो युरिया साना कोषबाट अवशोषित हुने हुँदा दानादार युरिया भन्दा निकै प्रभावकारी मानिन्छ । परम्परागत रासायनिक यूरिया ७० प्रतिशत भन्दा बढि विभिन्न माध्यमधाट नष्ट हने गर्दछ । यसको लामो समय प्रयोग कारण माटोमा अम्लियपना पनि हुन पुग्दछ ।

नानो युरिया तरल परम्परागत रसायनिक युरियाको तुलनामा माग आधाले घटाउँदछ। १ बोरा (५० किलो) परम्परागत युरिया ५०० मिलि नानो युरिया बराबर हुन्छ । नानो युरिया वातावरण मैत्री, परम्परागत युरिया भन्दा सस्तोे, स्वास्थ वातावरण, माटोको गुणस्तर र बढी उत्पादनका लागि उपयुक्त हुनुका अलावा यसको प्रयोगले माटो, हावा र पानीमा नकरात्मक प्रभाव पर्दैन।

कसरी प्रयोग गर्ने नानो युरिया ?
१ लिटर सफा पानीमा २ देखि ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिन्छ। राम्रो परिणामको लागि बालीनाली लगाएको ३० देखी ३५ दिन पछि र फूल फूल्ने एक हप्ता अघि दुई पटक छर्किनु पर्दछ। प्रयोग गर्नु अघि बोतल राम्रोसँग हल्लाउनु पर्छ तथा यसलाई बालबालिका र जनावरहरुको पहुँचबाट टाढा राख्नुपर्छ ।

नानो युरिया स्प्रे गर्दा मास्क र पन्जा लगाउनुपर्छ । यसलाई सामान्य तापक्रममा भन्डारण गर्न सकिन्छ । सामान्यतया ५०० मिलि नानो युरिया एक एकड क्षेत्रमा स्प्रेयर, ड्रोन, पावर स्प्रेयर आदिमार्फत स्प्रे गर्न पर्याप्त हुन्छ। यसको मूल्य ५ देखि ६ सय हाराहरीमा पार्ने कम्पनीले जनाएको छ । आधिकतम मूल्य तोकिन बाँकी रहेको कम्पनीले जनाएको छ ।

नानो यरिया सार्वजनिक कार्यक्रममा चौधरी ग्रुप तथा इफ्को इन्डियाबीच रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यस साझेदारी नेपालमा नवीनतम कृषि प्रविधि र विकास ल्याउन इफकोको समन्वयमा केन्द्रित रहने बताइएको छ। साझेदारी पत्रमा चौधरी ग्रुप तथा इफ्को इन्डियाका प्रतिनिधिले हस्ताक्षर गरेका थिए।

उक्त कार्यक्रमममा चौधरी गू्रपका निर्देश निर्वाण चौधरी, इफ्कोका प्रतिनीधि तथा भारतका पूर्वमन्त्री सुरेश प्रभुको समेत उपस्थिति थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स