झिनियाँको माग थेग्नै मुस्किल

काठमाडौं । अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दसैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यस पटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरू बताए ।
५ कामदार राखेर झिनियाँ बनाए पनि मागअनुसार पुर्याउन नसकिँएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताए । रामपुर नगरपालिका– ५ राङभाङमा एक दशकअघिदेखि उद्योग स्थापना गरेर यही व्यवसाय गर्दै आएकी पूर्वी पाल्पाका पहिलो व्यवसायी उनले माग धेरै आउँदा पनि कतिपय बजारमा पठाउन नपाइएको बताए ।

‘एक महिना अघिदेखि तिहारलाई प्राथमिकता दिएर झिनियाँ बनाइरहेका छौं,’ व्यवसायी श्रेष्ठ भने ‘यस पटक अन्यत्र धेरै उत्पादन नभएको र पहिलाको तुलनामा झिनियाँ खोज्ने धेरै ग्राहक बढेकाले पुर्याउन कठिन परिरहेको हो’ । लामो समय झिनियाँ व्यावसायमा बिताएकी उनलाई यसको उत्पादनसम्बन्धी राम्रो ज्ञान छ । पुरानो व्यवसाय भएकाले धेरै टाढाबाट माग यही आउने गर्दछ ।

घरभित्रै बसेर छोटो समयमा पनि लाखौँ कमाइ गर्न सकिने यो व्यवसायमा मेहनत गरियो भने राम्रो सफलता हातपर्ने व्यवसायी श्रेष्ठको अनुभव छ । पहिला एक्लै उत्पादन गर्दै आएकी उनले पछिल्ला वर्षमा झिनियाँको माग बढी आउन थालेपछि कामदार नै राखेर थप उत्पादन गर्दै आएका हन् । यस व्यवसायमा आवद्ध रहेदेखि नै परनिर्भर हुनु नपरेको र आफूले पनि सकुञ्जेलसम्म यही व्यवसायलाई निरन्तरता दिने व्यवसायी श्रेष्ठको सोच छ ।

यहाँ तिहारको समय मात्र नभइ अन्य समयमा पनि निरन्तर झिनियाँ उत्पादन भइरहेको छ । उत्पादित झिनियाँ हाल प्रतिदर्जन १०० मा फुटकर र होलसेल ९० रपैयाँ मा धमाधम बिक्री भइरहेको छ । अहिले तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायत विभिन्न बजारमा झिनियाँ खपत भइरहेको अर्का व्यवसायी रुद्रनारायण श्रेष्ठ बताए ।

‘उत्पादन गर्न सकेमात्रै पनि भयो, बजारको चिन्ता छैन, झिनियाँ रोटी तिहारमा सबैका घर घरमा अनिवार्यजसो बनेको छ, व्यावसायिक रुपले उत्पादन गर्दा र प्रयोगकर्ता बढ्दै जाँदा हामीलाई काममा भ्याइनभ्याइ छ ।’

व्यवसायी रुद्रनारायणका अनुसार यस पटकको दसैं र तिहारमा गरेर झिनियाँबाट करिब ६ लाख रुपैयाँ बराबरको व्यापार हुने अनुमान छ । उत्पादन धेरै गर्न सकियो भने फाइदा राम्रो हुने उनकोे अनुभव छ । पहिला बजारमा झिनियाँ अहिलेजसो प्रर्याप्त मात्रामा पाइँदैनथ्यो । घर घरमा तिहारमा हातले घुमाउने सानो सोँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो ।

तर, हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने काम गरिँदैन । त्यसकारण पनि बजारका पसल र उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् । रामपुर ४ बस्ने फूलमाया विक पहिला घरमा आफैले झिनियाँ बनाउने गरेपनि हिजोआज भने बजारबाटै किनेर प्रयोग गर्ने गरेका छन् । समयमा बजारका पसल र उद्योगमा पनि सहजै पाइने भएपछि बनाउने झण्झट गर्नु नपरेको उनको भनाइ छ ।

निस्दी गाउँपालिका–५ गल्धाका व्यापारी तिलक सारु गाउँमा झिनियाँ खोज्ने ग्राहक बढेपछि उद्योगबाट खरिद गरेर व्यापार गर्ने गरेको बताए । रामपुर– ४ स्थित सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठलाई पनि तिहारको रमझमसँगै झिनियाँ बनाउन भ्याइनभ्याइ छ । झिनियाँ बनाउँदै गर्दा दिन बितेको उनलाई पत्तो छैन ।

‘बिहानदेखि साँझ आँखाले ठम्याउँदासम्म झिनियाँ बनाउँदा पनि ग्राहकलाई पु¥याउँनै हम्मेहम्मे हुन्छ, जताततैबाट माग आइरहेको छ,’ लक्ष्मी भने । विगत छ वर्षदेखि यस व्यवसायमा आवद्ध उहाँ यस पटकको तिहारमा १ लाख बराबरको व्यापार हुने बताउनुहुन्छ । घरमै बसेर पनि राम्रो कमाइ गर्न सकिने, व्यापारमा सहजता र बिक्री पनि सजिलै हुने भएकाले व्यावसायिक तवरबाट झिनियाँ उत्पादन गर्न थालेको लक्ष्मी बताए ।

झिनियाँबाट राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायमा हिजोआज महिलाको आकर्षण बढ्न थालेको छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हँुदा जुनसुकै समय उत्पादन भएको झिनियाँ भण्डार गरेर बजारमा पठाउन सकिन्छ ।

गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो भएको छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गर्दै आफ्नो जीविका धानेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स