नेपालमा औपचारिक रुपमा दुग्ध व्यवसाय सुरु भएको २००९ सालदेखि हो । नेपालको दुग्ध व्यवसायको इतिहासमा निजी क्षेत्रले ६० प्रतिशत बजार ओगट्दै आएको छ । बाँकी ४० प्रतिशत दुधको बजार हिस्सा दुग्ध विकास संस्थानको रहेको छ ।
नेपालको मागअनुसार यहीँ उत्पादन भएको दुधले बजार धान्न सकेको छैन । नेपाल कृषि प्रधान देश भए पनि दुधलगायत कतिपय कृषिजन्य वस्तु विदेशबाट आयात हुने गरको छ ।
नेपालको दुध उत्पादनले ८० प्रतिशत मात्रै माग धानेको छ भने छिमेकी देशबाट २० प्रतिशत धुलो दुध आयात हुँदै आएको छ । सहकारी र (डीडीसी) बाहेक निजी क्षेत्रले दुधको क्षेत्रमा ३५ अर्ब लगानी गरेको छ । नेपालमा हाल जम्मा १७ प्रतिशत दुध औपचारिक क्षेत्रबाट लेबलिङ र प्याकेजिङ गरेर बजारमा उपलब्ध भइरहेको छ । बाँकी दुध खुल्ला रुपमा अनौपचारिक ढंगमा बिक्री भइरहेको छ । नेपालमा हाल करिब ३ लाख लिटर दुध अपुग छ । दुधमा आत्मनिर्भर हुन लागेकै बेला कोरोना महामारी आइदियो र किसानलाई निराश पारिदियो । कोरोनाकालमा दुध बिक्री निकै कम भएपछि यो पेशाबाट नै कतिपय किसान पलायन हुन पुगे । यही कारण पनि नेपालमा दुध अभाव छ ।
बजारमा अन्य कुनै पनि सामानको मूल्य स्थिर रहँदैन, तर दुधमा मात्र मूल्य नियन्त्रण गर्नु व्यावहारिक मान्न सकिन्न । त्यसैले अब दुग्ध व्यवसाय क्षेत्रमा पनि अन्यत्र जस्तै बजारको मूल्य वृद्धि अनुसार भाउ बढाउन पाउनुपर्यो । होइन भने आमकिसान र उद्योगी टिक्न सक्ने अवस्था रहँदैन । यस विषयमा सरकारले समयमै सोच्नुपर्छ ।
घरभाडा, तलब र बैंकको ब्याज बेला–बेलामा वृद्धि हुने गरेको छ । तर दुधको मूल्यमा भने सरकारले हस्तक्षेप गरेको भन्दै कृषक बेला–बेलामा आक्रोशितसमेत हुने गरेका छन् । दुध बिक्री नभएपछि किसानले ‘मिल्क होलिडे’ को नीति अँगालेका छन् । अन्य सामानको अधिक मूल्यका कारण लागत मूल्य पनि नपाएर आमकिसान र दुध उत्पादक समस्यामा परेका छन् । बजारमा अन्य कुनै पनि सामानको मूल्य स्थिर रहँदैन, तर दुधमा मात्र मूल्य नियन्त्रण गर्नु व्यावहारिक मान्न सकिन्न । त्यसैले अब दुग्ध व्यवसाय क्षेत्रमा पनि अन्यत्र जस्तै बजारको मूल्य वृद्धि अनुसार भाउ बढाउन पाउनुपर्यो । होइन भने आमकिसान र उद्योगी टिक्न सक्ने अवस्था रहँदैन । यस विषयमा सरकारले समयमै सोच्नुपर्छ ।
बजारमा सबै थोकको मूल्य बढ्दा दुधको मात्र मूल्य नबढ्ने हुन्छ र ? एक वर्षमा कयौं पटक पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ, प्रायः बढिरहेको छ । अन्य सामानको पनि उत्तिकै मूल्य बढेको छ । यो अवस्थामा नोक्सान सहेर कृषकले कहिलेसम्म दुध उत्पादन गर्न सक्लान् ? राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको छ । भुकम्प र कोभिडको समयमा हरेक सामानको बजार मूल्य दोब्बर–तेब्बर हुँदा पनि हरेक दिन एउटै मूल्यमा आमउपभोक्ता दुध उपभोग गर्न पाइरहेका थिए । यसबाट पनि किसानले सोचेजति प्रतिफल पाउन सकेनन् ।
लगानीको सम्भावित क्षेत्र
कृषि क्षेत्रको विकासका लागि सरकारले पशुपालन र दुग्ध पदार्थको उत्पादन वृद्धिका लागि योजनावद्ध कार्यक्रम निर्माण गरेको बताए पनि त्यस्ता कार्यक्रमहरु प्रभावकारी हुन सकेका छैनन् । बजारमा हाल रहेको मागअनुसारको दुग्ध पदार्थको उत्पादन गर्न नसक्दा भारतलगायतका मुलुकबाट समेत दुग्ध पदार्थको आयात गर्नुपरेको अवस्था छ ।
नेपालमा हाल दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ । अहिले पनि विभिन्न कारणले हाम्रो देशको कुल उत्पादनको आधा हिस्सा बजारसम्म आइपुगेकै छैन । बजारको अवस्था हेर्दा २० प्रतिशत नपुग छ । सरकार र डेरी व्यवसायमा लाग्ने सबैले थोरै मात्र सहयोग गर्ने हो भने बाँकी ५० प्रतिशत दुध पनि बजारमा आउँछ, अनि बजारमा नपुग २० प्रतिशत दुधको माग पूर्ति गर्न सकिन्छ । यस क्षेत्रमा भएको लगानीले देशको अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रभाव पार्छ । पर्याप्त मात्रामा र देशको मागअनुसार पशुपालन गर्न अझ धेरै लगानीको अवश्यकता छ । आवश्यक तथा माग अनुरुप उत्पादन गर्नका लागि यो क्षेत्रमा लगानी बढाउन सक्दा स्वदेशमै रोजगारीको अवसर सिर्जना हुन्छ ।
रोजगारी निर्माणको क्षेत्र
हाल देशभर करिव ३५ अर्ब लगानी भएको दुग्ध व्यवसायको क्षेत्रमा ४० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । देशभर दुग्ध उत्पादन व्यवसायमा करिब ६ लाख कृषक परिवारसमेत जोडिएका छन् । दुग्ध उत्पादन क्षेत्रको मात्र कुल राष्ट्रिय उत्पादनमा करिब ९ प्रतिशत योगदान रहेको छ । प्रत्येक वर्ष १५ अर्ब रूपैयाँ सरहबाट गाउँ गइरहेको छ । लगानी वृद्धि गरेको खण्डमा गाउँमा नगद प्रवाह भई ग्रामीण अर्थतन्त्रलाई थप चलायमान बन्न पुग्छ ।
गाउँमा आर्थिक क्रियाकलाप बढाउन दुध उत्पादन उद्योगले ठूलो भूमिका खेल्न सक्छ । अन्य उत्पादनको सम्भावना कम भएको ठाउँमा दुग्ध व्यवसाय गरेर पनि किसान तथा अन्य वर्गले आफ्नो जीविकोपार्जन गरिहेका छन् । यस क्षेत्रमा नयाँनयाँ सम्भावना अत्यधिक रहेकाले रोजगारी सिर्जनामा यसको योगदान महत्वपूर्ण हुन सक्छ । यस क्षेत्रमा तत्कालै निजी क्षेत्र र सरकारले लगानी वृद्धि गर्न सक्ने हो भने, १ लाख जनालाई प्रत्यक्ष रोजगारीको अवसर आउन सक्छ ।
अहिले देशका प्रायः विकट ठाउँमा पनि सडक र विद्युत् सेवा पुगिसकेको अवस्था छ । अबको केही वर्षमा नेपाल दुधमा पूर्ण आत्मनिर्भर हुन सक्छ । बजारसम्म जोडिन नसकेको दुध पनि बजारमा आउँछ । त्यसको लागि सबैभन्दा पहिले आधिकारिक निकायबाट पहलकदमी हुन जरुरी छ । नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्राउने तयारी गर्दा निजी क्षेत्रले ठूलो विरोध गरेका थिए । तर अहिले देशमा दुध र दुग्धजन्य वस्तुको धेरै प्रयोग हुने बेला अभाव छ । साउन १५ गते खिर खाने दिन र दर खाने दिन नेपालमा अत्यधिक दुध अभाव हुँदै आएको छ ।
दैनिक रुपमा निजी क्षेत्रले ३१ करोड रुपैयाँबराबरको दुध बिक्री गर्दै आइरहेको छ । पछिल्लो समयमा पानीपछि सबैभन्दा अनिवार्य उपयोग हुने पदार्थ दुध नै हुने गरेको छ । हरेक दिन बिहान उठ्नेबित्तिकै पिउने चिया तथा कफीमा दुध अनिवार्यजस्तै छ । भर्खरै जन्मिएको बच्चादेखि, बिरामी, अशक्त, ज्येष्ठ नागरिकसम्मका लागि शक्तिवद्र्धक वस्तुका रुपमा दुग्धजन्य पदार्थलाई लिइन्छ । अस्पतालमा बिरामी भएर जाँदा पनि चिकित्सकले प्रायः सबैलाई दुध पिउने सल्लाह दिने गर्छन् । यसबाट पनि मानव जीवनमा दुधको महत्व पुष्टि हुन्छ ।
साउन १५ गते कति दुध बिक्री हुन्छ ?
नेपालमा दैनिक ३१ देखि ३२ लाख लिटर दुध खपत हुँदै आएको छ । यस वर्ष (२०७९)को साउन १५ मा देशभर करिब ५० लाख लिटर दुध निजी क्षेत्रले बिक्री गरेको थियो । नेपालमा ६२ लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादन भएको मध्ये बजारमा ३२ लाख लिटर दुध आउने गरेको छ । किसानले मागअनुसार दुध उत्पादन गर्न सकिरहेका छैनन् ।
नेपाल डेरी एसोसियसनले प्रतिलिटर ८६ देखि १ सय प्रतिलिटरमा दूध बिक्री गर्ने गर्दछ । सरदर प्रतिलिटर ८६ रुपैयाँ मूल्य राख्दा पनि ५० लाख लिटरको ४३ करोड रुपैयाँको दुध साउन १५ गते मात्रै बिक्री गरेको छ । नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि त्यस दिशामा अग्रसर भने रहेको देखिन्छ ।
दुधमा आत्मनिर्भर हुनका लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक दुई सय ५२ मिलिलिटर प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर आवश्यक पर्ने देखिन्छ । हाल नेपालमा उक्त परिमाणमा दुध उपलब्ध छैन । नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला करिब ३० र साना ६ सय वटाभन्दा बढी छन् ।
दुधको माग पूरा कसरी गर्ने ?
सरकारले दुधको माग पूरा गर्नका लागि कृषकलाई दाना, घाँस र पशुपालनमा अनुदान दिनु अत्यावश्यक छ । देशमा नै दुध उत्पादनको लागि ठूला फर्म सञ्चालन गर्न लगानीकर्ताहरुलाई आकर्षित गर्ने कानुन र ऐनको व्यवस्था हुुनु आवश्यक छ । स्वदेशमा उन्नत जातका गाई, भैसी सहजै पाइने अवस्था बन्नुपर्छ । यस कार्यमा राज्यको ध्यान जानु आवश्यक छ ।
उच्च नश्ल भएका र उन्नत जातका गाई, भैसी आवश्यकता अनुसार विदेशबाट समेत आयात गर्न सकिने प्रबन्ध मिलाउनका लागि सरकारी प्रोत्सहान हुनुपर्छ । उत्पादन भएको दुध बिक्री हुने सुनिश्चितताका लागि सरकारले ध्यान दिन सके पनि दुध उत्पादन वृद्धि हुनेछ । स्थानीय, प्रदेश तथा संघीय सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा समेत दुग्ध व्यवसायलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम ल्याउन जरुरी छ । दुग्ध व्यवसायप्रति किसानको आकर्षण बढाउन र व्यवसायको प्रवद्र्धन गर्न सरकारले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनु अत्यावश्यक छ ।