पृष्ठभूमि
नेपालको स्वास्थ्य उपचार पद्धतिको विकासक्रम निकै लोभलाग्दो छ । केही वर्षपहिलेको र अहिले वर्तमान अवस्थाको कुरा गर्ने हो भने स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको हामी देख्न सक्छौं । हामी नेपाली परिश्रमी, पौरखी र पराक्रमी छौं । हाम्रो स्वास्थ्यको विगत र वर्तमान अवस्था, खानपान र रहनसहनको संस्कारमा पनि परिवर्तन आएको छ । नेपाली जनताको स्वास्थ्यमा आएको उतार–चढावको स्थितिमा पनि फरक छ । हिजो देशमा परम्परागत उपचार पद्धति थियो । अहिले केही सिमित गाउँमा पुरानो पद्धति बाँकी हुन सक्छ । समग्रमा अहिले आधुनिक उपचार पद्धतिको विकास निकै राम्रो भएको पाइन्छ ।
आधुनिक उपचार पद्धतिको विकास कसरी भइरहेको छ भन्ने कुरा हामीले अहिले सञ्चालनमा रहेका राम्रा र सुविधा सम्पन्न अस्पताल हेरेर पनि थाहा पाउन सक्छौं । चिकित्सा क्षेत्रको विकासको सुरुआतको रुपमा हामी चिकित्सा शास्त्र अध्ययन संस्थानको स्थापनालाई मान्न सक्छौं । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्थापना सरकारी लगानीमा सन् १९७२ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत भएको थियो ।
त्यसयता शिक्षा क्षेत्रको विस्तारमा ठूलो फड्को मारेको पाइन्छ । सन् १९७८ मा आएर चिकित्सा शाास्त्र अध्ययन संस्थानले एमबीबीएस डाक्टर उत्पादन सुरु गरेको थियो भने सन् १९९२ पछि काठमाडौं विश्वविद्यालयबाट एक निजी मेडिकलले सम्बन्धन पायो । सन् १९९२ मा त्यस कलेजले सम्बन्धन पाएसँगै नेपालमा निजी कम्पनीहरुको सम्बन्धन विकास भएको देखिन्छ ।
वर्तमान अवस्था
नेपालमा स्वास्थ्य उपचारको समग्र अवस्था हेरेर यो बुझ्न सकिन्छ कि, विगत र अहिले मेडिकल क्षेत्रले फड्को मारेको छ । स्वास्थ्य सेवाको इतिहास नेपालमा दुई सय वर्ष पुग्न लागेको छ । सन् १८८९ मा काठमाडौंमा वीर अस्पतालको स्थापना भयो । त्यसपछि सन् १८९१ मा ललितपुरमा पृथ्वी वीर अस्पताल र सन् १९९३ मा भक्तपुरमा अर्को अस्पताल स्थापना भएको थियो । त्यसपछि धेरै यस्ता स्वास्थ सेवाको सुरुआत र विस्तार हुन थाल्यो ।
स्वास्थ्य क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्छ । शिक्षा र स्वास्थ्य राज्यको पहिलो प्राथमिकतामा हुनुपर्ने कुरा हो । तर राज्यमात्रै लागेर भने यसको विकास हुन सक्दैन । अहिले पनि सरकारी र निजी क्षेत्रका स्वास्थ्य सेवा हेर्ने हो भने धेरै भिन्नता छ । अझ मेडिकल शिक्षामा त निजी क्षेत्रको लगानी चाहिन्छ । निजी क्षेत्रलाई नै अघि बढाएर मेडिकल कलेजहरु स्थापना गर्ने राज्यको रणनीति हुनुपर्छ । मेडिकल कलेज निजी क्षेत्रले चलाउने भन्दैमा राज्य उदासिन भने बन्नु हुँदैन । अहिले राम्रा–राम्रा मेडिकल कलेजहरु स्वदेशमै भएको भए ठूलो धनराशि विदेश जान रोकिने थियो । भारत, बंगलादेश वा अन्य मुलुकमा चिकित्सा शिक्षाका लागि हाम्रा विद्यार्थी जानुपर्ने थिएन ।
नीति निर्माण तहमा राज्यका केही कमजोरी छन् । मेडिकल शिक्षा स्वदेशमै सहज हुने गरी राज्यले नीति निर्माणतर्फ सोच्नुपर्ने थियो । तर राज्यले अझै पनि राम्रो ध्यान दिएको छैन । राज्यले कडा नियमन तथा अनुगमन गर्ने र लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । स्वास्थ्य क्षेत्र भनेको सामाजिक सेवामूलक व्यवसाय हो । राज्य आफैले लगानी गर्नु नराम्रो कुरा होइन । राज्य आफैले लगानी गरेर मेडिकल कलेजहरु स्थापना गर्ने हो भने धेरै राम्रो हुन्छ । यदि राज्यले गर्न नसक्ने हो भने निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने हो । तर उचित कानुनी प्रबन्ध किन भएन ? राज्यले लगानी गर्न किन सकेन ? भन्ने विषयमा सोच्नुपर्ने आजको आवश्यकता हो ।
नेपालमा मेडिकल टुरिजमको सम्भावना प्रशस्त छ । अहिले पनि भीआईपीहरु उपचारका लागि विदेश जाने गरेको हामीले देखेका छौं । अन्य मुलुकमा उपचार गर्न जाँदा विदेशी मुद्रा रकम विदेशिन्छ । चिकित्सा शिक्षाका लागिमात्रै पनि धेरै ठूलो धनराशि हाम्रा विद्यार्थीले विदेश लिएर जाने गरेका छन् । यसतर्फ राज्य अलि गम्भीर हुने हो भने मेडिकल टुरिजममार्फत् मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ ।
मेडिकल टुरिजमको सम्भावना
नेपाल प्राकृतिक रुपमा सुन्दर देश हो । यहाँका हिमाल, पहाड हेर्नका लागि धेरै विदेशी पर्यटक आउने गरेका छन् । हाम्रो प्रकृति हेर्न जसरी विदेशी पर्यटक आउँछन्, त्यसरी नै मेडिकल टुरिजममा पनि आकर्षित गर्न सकिन्छ । यसले मुलुकको अर्थतन्त्रलाई सबल बनाउँछ । स्वास्थ्योपचारका लागि देशबाहिर पर्यटकका रूपमा जानु नै मेडिकल टुरिजम हो ।
मानिसहरु सामान्य स्वास्थ्य परामर्शदेखि अत्याधुनिक शल्यक्रियासम्मका लागि अन्य मुलुक जाने गर्छन् । अहिले जसरी नेपालीहरु धेरै देशमा उपचारका लागि जान्छन्, त्यसरी नै अन्य देशका विरामी पनि नेपाल ल्याउन सकिन्छ ।
मेरो विचारमा मेडिकल सेक्टर आर्थिक लाभ लिने ठूलो आधार बन्न सक्छ । तर यसका लागि सही नीतिको आवश्यकता पर्छ । नेपालमा पनि ठूला–ठूला अस्पतालहरु सञ्चालनमा आइरहेका छन् । मेडिसिटी, ग्रान्डीजस्ता अस्पताल ठूला र सुविधा सम्पन्न छन् । तर यी अस्पतालहरुमा उपचार शुल्क महँगो छ । जुन अस्पतालमा गाउँका सामान्य नागरिकले उपचार पाउन गाह्रो छ ।
हाम्रो चाहना के हो भने, त्यस्ता अस्पतालमा सामान्य जनताले पनि उच्चस्तरीय लाभ लिन सकून् भन्ने हो । त्यसैले नेपालमा ५० देखि १०० वटासम्म मेडिकल कलेज खोल्न आवश्यक छ । मेडिकल कलेजको संख्या धेरै हुँदा प्रतिस्पर्धा बढ्छ । प्रतिस्पर्धी मेडिकल क्षेत्र आजको आवश्यकता हो । कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा नहुने हो भने मोनोपोली हुन्छ ।
हरेक नेपालीले सहज रुपमा उच्चस्तरीय सुविधा पाउनका लागि हामीले दक्ष जनशक्ति उत्पादन गर्नैपर्छ । त्यसको उपाय भनेको नै मेडिकल कलेजहरुको संख्या बढाउने हो । जसमा उपचार पनि राम्रो होस् अनि शुल्क पनि उचित होस् । नेपालमा यस्ता मेडिकल कलेज खोलेर राम्रो सेवा दिन सकेको खण्डमा अन्य देशहरुबाट पनि उपचारका निम्ति मानिसहरु आउने गर्छन् ।
नेपालमै राम्राराम्रा मेडिकल कलेज हुने हो भने हाम्रा विद्यार्थी विदेश जानुपर्ने बाध्यता त हट्थ्यो नै, साथै हामीले विदेशी विद्यार्थी यता ल्याउन सक्ने सम्भावना रहन्थ्यो । अहिले पनि केही देशबाट थोरै संख्यामा यहाँ विद्यार्थी आएका छन् । त्यो संख्यालाई बढाउन र विदेश जाने नेपाली विद्यार्थीको संख्या घटाउन सक्ने हो भने नेपाल मेडिकल टुरिजमका रुपमा अघि बढ्न सक्छ । र, यो अर्थतन्त्रका लागि एउटा महत्वपूर्ण औषधि बन्न सक्नेछ ।
राज्य कि निजी क्षेत्र ?
स्वास्थ्य क्षेत्रमा राज्यको लगानी कि निजी क्षेत्रको ? उत्तर स्पष्ट छ– राज्यको लगानी आउनु राम्रो हो । तर राज्यले गरेको लगानीमा सञ्चालन राम्रो भएको देखिँदैन, किनकि त्यहाँ राजजनीतिक व्यक्तिले स्थान ज्यादा पाउँछ । जहाँ राजनीति प्रवेश हुन्छ, त्यसले संस्थालाई राम्रो फाइदा पुग्दैन भन्ने हामीले देखेभोगेकै कुरा हो । मेडिकल टुरिजमको विकासका लागि राज्यले लगानी गरेर मात्रै पुग्दैन । अझ महत्वपूर्ण कुरा त, अहिले जुन रुपमा लगानी भइरहेको छ त्यति लगानीले पुग्दैपुग्दैन ।
लगानी बढाउनैपर्छ । राज्यको लगानी भएपछि संस्थाको नेतृत्व गर्न राजनीतिक मान्छे आउँछ । उसले कत्तिको सिरियस भएर संस्थाको नेतृत्व गर्छ भन्ने कुरा महत्वपूर्ण हुन जान्छ । राजनीतिक मान्छेको भरमा संस्था त चल्ला, तर स्वास्थ्यजस्तो संवेदनशील विषयमा राजनीति हुन थाल्नेछ । कुनै एउटा मानिसको ज्यानको सबाल जोडिएको हुन्छ । त्यहाँ कसरी राजनीतिक घुसाउन मिल्छ ? मानिसको ज्यानको सबालमा कसैको हस्तक्षेप भयो भने त बर्बाद हुन्छ ।
यसकारण हामीले बुझ्नैपर्ने कुरा भनेको राज्यको लगानी आउनु एकदम राम्रो कुरा हो, तर त्यो स्वतन्त्र भएर अगाडि बढ्न सक्नुपर्छ । स्वतन्त्र भएर अगाडि बढ्न नसक्ने हो भने राज्यको लगानीमात्रै भएर हुँदैन । अन्य क्षेत्रकै कुरा गर्ने हो भने पनि अहिले राज्यको भन्दा निजी लगानीका क्षेत्रमा राम्रो प्रगति भएको हामी देख्न सक्छौं । निजी क्षेत्रमा भएका सुधारले अहिले नेपालमा धेरै ठूलो प्रगति भएको छ । शिक्षा क्षेत्रलाई हामीले उदाहरणका रुपमा लिन सक्छौं । पहिले राम्रो शिक्षा लिन बाहिर जानुबाहेक अरु विकल्प थिएन । कि त सरकारी स्कुल पढ्नुप¥यो, कि त विदेश जानुप¥यो ।
अहिले निजी विद्यालयहरु यति राम्रा खुलेका छन् कि, राम्रो शिक्षा लिन विदेश जानुपर्ने आवश्यकता नै छैन । सरकारी विद्यालय र निजी विद्यालयको पढाइमै फरक भयो । निजी विद्यालय प्रशस्त खुलेपछि सर्वसाधारणका छोराछोरीले पनि गुणस्तरीय शिक्षा लिन पाएका छन् । शिक्षा क्षेत्रमा राज्यको मात्रै लगानी भइरहेको भए अहिलेको जति सुधार पक्कै पनि हुँदैनथ्यो । अब राज्यले यस्तो क्षेत्रमा लगानी गर्नुप¥यो जहाँ निजी क्षेत्रले लगानी गर्न सक्दैन ।
जस्तो सुरक्षाका सन्दर्भमा राज्यको लगानी नै हुनुपर्छ । सेना–प्रहरीमा निजी क्षेत्रको लगानी सोच्न पनि सकिन्न । अन्य क्षेत्रमा निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ, जसबाट राज्यले पनि राम्रो राजस्व हासिल गर्न सकोस् । काम निजी क्षेत्रबाट हुने र निजी क्षेत्रले कमाएको रकमबाट राज्यले कर लिने हुनुपर्छ । निजी क्षेत्र सबल हुनु भनेको राज्य पनि बलियो हुनु हो । यसरी जिजी क्षेत्रलाई प्रोत्साहन गर्न सकियो भने बाहिरी लगानी पनि आउँछ । त्यसैले नीति–नियम खुल्लामुखी हुनुपर्छ ।
निष्कर्ष र सुझाव
नेपालमा उपचार पद्धतिको विकास निकै राम्रो भइरहेको छ । अन्य अति सुविधा सम्पन्न देशहरुसँग हाम्रो उपचार पद्धतिको तुलना नहोला, तर कतिपय देशको भन्दा नेपाल कमजोर छैन । मेडिकल क्षेत्रमा नेपालले धेरै प्रगति गरेको छ । नेपालमा पनि सबै रोगको राम्रो उपचार गर्न सक्ने चिकित्सक उपलब्ध छन् । सबै रोगहरुको अहिले नेपालमै राम्रो उपचार भइरहेको छ । कुनै रोगको उपचारका लागि पनि विदेश गइहाल्नुपर्ने बाध्यता हटेको छ । यति भन्दै गर्दा सबै उपचारमा नेपाल सम्पन्न भइसकेको भने होइन । स्वास्थ्य क्षेत्र अझै पनि विकास हुने क्रममा नै छ । यो प्रक्रिया निरन्तर अघि बढिरहेको छ ।
अहिलेको समस्या भनेको उपयुक्त कानुनी प्रबन्धको अभाव हो । राज्यका तर्फबाट मेडिकल कलेज सञ्चालनका लागि अनुमति दिने र राज्यले राम्रो अनुगमन गर्नुपर्ने आजको आवश्यकता हो । नेपालमा निकै राम्रा र दक्ष जनशक्तिको उत्पादन भइरहेको छ । प्रविधिको अभाव पूर्ति गर्न पनि हाम्रा लागि ठूलो समस्या छैन । राज्यले नीति बनाएर सहजीकरण गर्ने हो भने अहिले पनि स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी पक्कै पनि बढ्छ ।
अब यहाँ महत्वपूर्ण कुरा मेडिकल टुरिजमको विषय रहेको छ । मेडिकल टुरिजमको विकास गर्ने हो भने राज्यको नीति बजारमुखी हुनुप¥यो । नियन्त्रणमुखी हुनु भएन । उपचार गर्न विदेश जाने जुन प्रवृति छ त्यसलाई हामीले रोक्नुपर्छ । यसका लागि सबैभन्दा पहिला पर्याप्त मेडिकल कलेज खोल्नुप¥यो । गलत काम गर्नेलाई राज्यले अनुगमन गरेर कानुनी दायरामा ल्याउनुप¥यो । नयाँनयाँ प्रविधिको विकास गर्नुप¥यो, जसले गर्दा नेपालको टुरिजम पनि बढ्छ । नेपालका बिरामीहरु उपचारको अभावमा ज्यान फाल्न नपरोस् भन्ने हाम्रो चाहना हो । कुनै पनि क्षेत्र सुधारका लागि सही नीति चाहिन्छ, यो कुरा राज्यले बुझ्नु पर्छ ।
Total Registration Status
Registration Status Up to 31st December, 2021
Male | Female | Total | |
MBBS | 17381 | 8671 | 26052 |
BDS | 1546 | 2535 | 4081 |
Total | 18927 | 11206 | 30133 |
Specialist Registration Status
Registration Status Up to 31st December, 2021
Male | Female | Total | |
MD/MS | 5960 | 2243 | 8203 |
MDS | 355 | 304 | 659 |
Total | 6315 | 2547 | 8862 |
तथ्यांक स्रोत: नेपाल मेडिकल काउन्सिल