सरकारले आजदेखि प्रतिकिलो ६७० रुपैयाँमा खसीबोका बिक्री गर्ने

काठमाडौं । सरकारले हरेक वर्ष दशैंमा बिक्री गर्ने गरेको खसीबोका आजदेखि बिक्री खुला गरेको छ । सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकेको छ । ६८० रुपैयाँ निर्धारण गरिएकामा खसीबोकाको मूल्य खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० रुपैयाँ थप छुट दिएर ६७० रुपैयाँमा बिक्री गर्न लागेको हो ।

गत वर्षको तुलनामा भने यो वर्ष निर्धारण भएको मूल्य प्रतिकिलो ३० रुपैयाँ बढेको छ । खाद्यले गत वर्षको दशैंमा प्रतिकिलो ६४० रुपैयाँ मूल्य तोकेको थियो । गत वर्षको तुलनामा ढुवानी भाडा बढेकाले मूल्य पनि बढाउनुपरेको खाद्यको दाबी छ ।

कम्पनीले बिक्री गर्न लागेको खसीबोका अन्य व्यापारीले बिक्री गर्ने खसी बोकाभन्दा प्रतिकिलोमा ४० रुपैयाँ सस्तो भएको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीमबहादुर थापाले बताए ।

निजी व्यापारीहरूले तोक्ने मूल्यको तुलनामा भने खाद्यको भाउ सस्तो नै रहेको छ । चौपाया खरिदबिक्री सेवा संघले मंगलबार तराईको खसी प्रतिकिलो ७१० देखि ७५० रुपैयाँ तोकेको छ । लोकल खसी प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ तोकेको छ । यस हिसाबले व्यापारिक खसीबोकाभन्दा खाद्यको सस्तो रहेको थापाको दाबी छ ।

बजार हस्तक्षेप गर्ने उद्देश्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दार्चुला र मकवानपुरबाट काठमाडौं ल्याएका खसीबोका ल्याएको छ ।

खाद्य कम्पनीले च्याङ्ग्राको मूल्य भने प्रतिकिलो १२६० रुपैयाँ निर्धारण गरेको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्तालाई प्रतिकिलो १२५० रुपैयाँमा बिक्री गर्ने खाद्यले उल्लेख गरेको छ ।

संघले भने च्याङग्राको मूल्य प्रतिकिलो १३०० रुपैयाँ तोकेको छ । खाद्यका अनुसार खसीबोका किन्न जिल्ला प्राथमिक खरिद समिति हुन्छ । समितिमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसानसमेत सदस्य रहने छन् । समितिले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा खरिद हुन्छ । प्रशासनिक खर्च, ढुवानी खर्च जोडेर मूल्य निर्धारण गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको भनाइ छ ।

बजार मूल्य हस्तक्षेप गर्ने उद्देश्यले कम्पनीले यसपालि २३ सय खसीबोका÷च्याङ्ग्रा किन्ने लक्ष्य राखेको छ । सोहीअनुसार खाद्यले मंगलबार २४३ वटा खसीबोका र च्यांग्रा भित्र्याएको थियो । बुधबार बिहानसम्म थप ६९१ वटा आइपुग्ने कम्पनीले जनाएको छ । दशैंका लागि असोज १३ देखि भित्रिन सुरु हुन्छ । व्यापारीहरू सल्यान, सुर्खेत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछाप, इलाम, नुवाकोटलगायत जिल्ला गएका छन् ।

एक साताको दसैं बजारमा स्वदेशी उत्पादन ६० र भारतको ४० प्रतिशत आयात हुने उनले बताए । थापाका अनुसार यसपालिको दसैंमा करिब २५ हजारदेखि ३० हजार खसीबोका बिक्री हुने अनुमान छ । गत वर्षको दसैंमा करिब ४० हजार खसीबोका बिक्री भएका थिए । माग बढी भए तत्काल आयातसमेत गर्न सकिने संघले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स