काठमाडौं । नेपालले दुई महिनाको अवधिमा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । उद्यपि हाल देखिएको व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा ९.४५ प्रतिशतले कम हो । गत वर्षको सो अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ व्यापार थियो ।
चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म आयात र निर्यात दुबै घटेका कारण व्यापार घाटा पनि घटेको हो । गत आर्थिक वर्ष २०७८/७९ भदौ महिनाको तुलनामा यो भदौंमा आयात निर्यात दुबै घटेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।
सरकारले कतिपय वस्तु आयातमा कडाइ गर्दा आयात गरेको हो भने देशबाट निर्यात हुने वस्तुको उत्पादन कम हुँदा निर्यात समेत घट्न पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा १३ प्रतिशतले आयात घटेको छ भने ३४.८८ प्रतिशतले निर्यात घटेको छ । तर, साउनको तुलनामा भदौमा आयात बढेको छ ।
चालु आर्थिक वर्षको भदौ महिना नेपालले पौने ३ खर्बको वस्तु आयात गरेको छ । चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनाको अवधिमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांक छ भने सो अवधिमा २८ अर्ब ६८ करोड ४ लाख रुपैयाका वस्तु नेपालबाट विभिन्न देशमा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको थियो ।
दशैं नजिकिँदै गर्दा साउनको तुलनामा भदौमा आयात बढेको हो । गत साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६५ हजार रुपैयाँको आयात भएको थियो । भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड ३५ लाख ८६ हजार रुपैयाँको वस्तु आयात गरेको विभागको तथ्यांकले देखाएको छ ।
विभागको तथ्यांकअनुसार दुई महिनाको अवधिमा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । नेपालले गत वर्षको सोही अवधिमा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
नेपालले दुई महिनाको अवधिमा ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । चालु आवको भदौसम्म आयात र निर्यात दुबै घटेपछि वैदेशिक व्यापारको फिगर पनि घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । सो तथ्यांक गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.७० प्रतिशतले कम हो ।
उच्च आयात भएका १० वस्तु
नेपालले २ महिनाको अवधिमा सबैभन्दा बढी डिजेल आयात गरेको छ । दुई महिनाको अवधिमा १८ अर्ब ४२ करोड १५ लाख रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख रुपैयाँको पेट्रोल, १० अर्ब ४२ करोड ३ लाख रुपैयाँको एलपीजी ग्यास आयात भएको छ ।
सो अवधिमा ९ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कच्चा भटमासको तेल, ७ अर्ब २७ करोड ८४ लाख रुपैयाँको फेरस प्रडक्ट, ६ अर्ब ६१ करोड ७० लाख रुपैयाँको कच्चा पाम तेल, ६ अर्ब १८ करोड ९ लाख रुपैयाँको मोबाइल फोन, ६ अर्ब १८ करोड १ लाख रुपैयाँको आइरन तथा स्टिल र ४ अर्ब ९१ करोड ९१ लाख रुपैयाँको डण्डी आयात गरेको छ ।
उच्च निर्यात भएका १० वस्तु
नेपालले साउन र भदौ महिनामा गरी २ अर्ब ४७ करोड ४९ लाख रुपैयाँको पामोलिन तेल निर्यात गरेको छ भने २ अर्ब १३ करोड ५५ लाख रुपैयाँको कार्पेट निर्यात गरेको छ । यो अवधिमा १ अर्ब ९६ करोड ८६ लाख रुपैयाँको भटमासको तेल, ३ अर्ब २२ करोड ५ लाख रुपैयाँको पाम तेल, १ अर्ब २० करोड ६६ लाख रुपैयाँको फेल्टबाट निर्मित वस्तु निर्यात भएको छ । ९० करोड ६९ लाख रुपैयाँको चिया, ६८ करोड २६ लाख रुपैयाँको धागो र ६८ करोड ९ लाख रुपैयाँको अलैंची निर्यात गरेको छ ।