काठमाडौं । सरकारले दशैं तिहारमा उपभोक्तालाई राहत दिने हिसाबले संचालनमा ल्याएको सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटेको छ ।
बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार बाहिरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेल र दालको मूल्य घटाएको हो ।
जसअनुसार तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा १० रुपैयाँ र मुसुरोको दालमा ८ रुपैयाँले घटेको छ ।
नयाँ मूल्य अनुसार अब तोरीको तेल २७५ रुपैयाँ, सूर्यमुखी तेल मूल्य प्रतिलिटर २८५, भटमासको तेल २४० रुपैयाँ र मुसुरोको दालको मूल्य १४५ रूपैयाँ पुगेको छ ।
यसअघि कम्पनीले लिटरमा ७ रुपैयाँ छुट दिएको भन्दै सनफ्लावर प्रतिलिटर २९५, तोरी २८० र भटमासको तेल २४५ रुपैयाँमा बिक्री गरेको थियो ।
सरकारले दशैं तिहारमा उपभोक्तालाई राहत दिने हिसाबले सहुलियत पसल संचालनमा ल्याए पनि होलसेलको भन्दा सहुलियत पसलमा अझै महँगो रहेको देखिएको छ ।
होलसेलमा तोरीको मूल्य २५०, सूर्यमुखीको २४५ र भटमासको तेलको मूल्य प्रतिलिटर २१८ रुपैयाँमा बिक्री भइरहेको छ ।
जुन होलसेलमा भन्दा सहुलियत पसलमा तोरीको तेलमा २० रुपैयाँ, सूर्यमुखी तेलमा ४० रुपैयाँ र भटमासको तेलमा १७ रुपैयाँले महँगो छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ गतेदेखि कार्तिक १५ गतेसम्म उपभोक्तालाई दशैं तिहार लक्षित सहुलियत पसल संचालनमा ल्याएको हो ।
कम्पनीले यस वर्ष ३ करोड ३२ लाख रुपैयाँ बराबर खाद्यन्न र मासु जन्य पदार्थमा छुटको व्यवस्था गरेको छ ।
कम्पनीले काठमाडौं उपत्यकामा बग्गीखाना, थापाथली, नक्खु र भक्तपुरमा गरी देशभरीका ४१ वटा जिल्लाका कुल ४४ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।