घटने भयो एमएस वायरमा प्रयोग हुने कच्चा पदार्थ र सेनिटरी प्याडमा लगाएको करको दर

काठमाडौं । बजेट सार्वजनिक भएदेखि विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले अबको नीति करको दर हेरफेर गर्ने देखिएको छ । नजिकिएको चाडपर्व र चुनावी माहोलका कारण बजेट मार्फत गरिएका केहि वस्तुको करको दरमा पुर्नविचार गर्ने अवस्थामा उनी पुगेका हुन् ।

चुनावका लागि उद्योगी व्यापारीसँग सहयोग लिनु पर्ने भएका कारणले उनीहरूलाई चिडाउन सक्ने अवस्थामा उनी छैनन् । साउन १३ गते क्लिन चिटपापछि १४ गते अर्थ मन्त्रालय फर्केका उनले यो अवधिका करका दरमा केहि हेरफेर गर्ने तयारी सुरु गरेका हुन् ।

विशेष गरी एमएस वायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ र तयारी सेनेटरी प्याडको आयातका विषयमा उद्यमी व्यवसायीहरूले चर्को आवाज उठाइरहेका छन् । यसको दवाव खेप्न नसकेर अर्थमन्त्री शर्माले यी वस्तुमा लगाएको भन्सार महसुल र अन्तःशुल्कको दरमा पुर्नविचार गर्ने तयारी गरेका हुन् ।

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार अबको केहि समया यी वस्तुको लाग्दै आएको करको दरमा हेरफेर हुने बताए । ‘मन्त्रालयले यस विषयमा गहन छलफल गरिसकेको छ,’ उनले भने ‘मन्त्रीज्यू पनि यस विषयमा कन्भिन्स भइसक्नु भएको छ ।’

त्यसो त प्रधानमन्त्री शेरवहादुर देउवाले पनि यी वस्तुमा लागेको करले औद्योगिक र व्यवसायिक वातावरण विगारेको भन्दै अर्थमन्त्री फर्केर आएपछि सुधार गर्ने बताउँदै हिडिरहेका थिए ।

उद्योग व्यवसायीलाई परेको मर्काको विषय बुझेपछि अर्थ मन्त्रालयले पनि औपचारिक रुपमै एमएस वायरका कच्चा पदार्थ र प्याडको भन्सार शुल्क हेरफेरको प्रक्रिया अघि यस अघि नै बढाएको थियो । मन्त्री विवादमा तानिएपछि रोकिएको यो कार्य मन्त्री फर्केको ३ सातामा फेरि चर्चा सुरु भएको छ ।

चालु आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत भन्सार र अन्तःशुल्कमा व्यापक हेरफेर गरेपछि आलोचित भएका अर्थमन्त्री शर्मा छानबिन समितिले उन्मुक्ति दिएपछि भन्सार दर हेरफेर गर्न बाध्य भएका हुन् ।

जेठ १५ गते बजेट भाषणमार्फत अर्थमन्त्री शर्माले एमएस वायर उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको भन्सार शुल्क र अन्तःशुल्क बढाएका थिए । बजेटमार्पत एमएस वायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको आयातमा भन्सार महशुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत र अन्तःशुल्क प्रतिटन २ हजार ५ सयबाट ४ हजार ५ सय पुर्याइएको छ । सेनेटरी प्याडको आयातमा पनि ९० प्रतिशत भन्सार छुटको घोषणा गरेका थिए ।

यहि विषयलाई लिएर सडकदेखि सदनसम्म तात्यो र अर्थमन्त्री शर्माले सरकारले गठन गरेको संसदीय समितिलाई छानबिन गर्न सजिलो होस् भनेर राजीनामा दिए । बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेकाे थियाे ।

अर्थमन्त्रीका रुपमा दोस्रो पटक अर्थ मन्त्रालय आएपछि शर्माले एमएस वायरका कच्चा पदार्थ र सेनेटरी प्याडको आयातमा लागू भएको भन्सार दर परिवर्तन गर्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स