हवाइ इन्धनको ११९ र पेट्रोलको २४ प्रतिशतले खपत बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा हवाइ इन्धन र पेट्रोलको खपत अत्यधिक बढेको छ । गत आर्थिक वर्षमा हवाइ इन्धनको खपत ११९ प्रतिशत र पेट्रोलको मूल्य २४ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षमा ५ लाख ८७ हजार ६७७ किलोलिटर पेट्रोल आयात भएकोमा गत आर्थिक वर्षमा सो आयात बढेर ७ लाख ३० हजार ४८८ किलोलिटर पुगेको निगमका प्रवन्ध निर्देशक उमेश थानीले बताए । त्यसरी नै हवाई इन्धनको खपत ७० हजार ४०० किलोलिटरबाट बढेर १ लाख ५४ हजार ७८ किलोलिटर खपत भएको छ ।

यो अवधिमा एलपी ग्यासको खपत १२ प्रतिशत र डिजेलको खपत २ प्रतिशतले बढेको छ । एलपी ग्यासको खपत ५ लाख ३६ हजार २८ मेट्रिक टन आयत भएको छ । अघिल्लो आर्थिक वर्षमा ४ लाख ७७ हजार ७५२ मेट्रिक टन एलपी ग्यास खपत भएको थियो ।

डिजेलको खपत सो अवधिमा २ प्रतिशतले बढेर १७ लाख २७ हजार ५७१ किलो लिटरमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा १६ लाख ९८ हजार ४२७ किलो लिटर डिजेल खपत भएको थियो ।

समीक्षा अवधिमा एलपी ग्यासको खपत १२ प्रतिशतले र डिजेल खपत २ प्रतिशतले बढेको छ । अन्तरोष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गर्दा नेपालमा पनि यसको खपत अझ बढ्न गयो । बढेको खपतले अझ नेपाल आयल निगमको घाटा बढाउन सघायो ।

गत आर्थिक वर्षको मंसिर अन्त्य तथा पुसदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमको घाटा ५० अर्ब पुग्यो । सो घाटा फूलफिल गर्नतिर लाग्नु भन्दा पनि राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब, सरकारको १० अर्ब तथा इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने २३ अर्ब तिर्नु पर्ने रकम भने तिर्नुपर्ने निगमका डेपुटी प्रवन्ध निर्देशक शुशील भट्टराईले बताए ।

‘निगमलाई नाफा कमाउनु छैन, उनले भने ‘हामीलाई सञ्चालन खर्चमात्रै उठे हुन्छ ।’ निगमले अत्यन्त कम खर्चमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मिलाएको छ । प्रतिलिटर ५० पैसामा हामीले काम गरिरहेका छौं ।’

अहिले निगम ५० अर्ब नोक्सानीमा भएकाले घटेको मूल्य समेत समायोजन गर्न नसकिएको उनले बताए । विस्तारै पेट्रोलियम पदार्थको मूल्य घट्दै गयो भने तिर्नुपर्ने रकम जति तिर्दै जाने र मूल्य पनि केहि समायोजन गर्ने हाम्रो योजना हो । तर, अहिले नै हामी मूल्य घटाउन सक्ने अवस्थामा भने छैनौ ।

अहिले पेट्रोलमा ४.७४ रुपैयाँ नाफा भएपनि डिजेलमा ४.५० पैसा घाटा छ । एलपी ग्यासमा भएको प्रति सिलिण्डर ४९९.५७ रुपैयाँ घाटा र हवाइ इन्धन र मट्टितेलमा भएको घाटा समेत हिसाव गर्दा हाल निगम अझै मासिक ६२ करोड ५८ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

इण्डियन आयल कर्पोरेशनसँग भएको सम्झौता अनुसार २ किस्ताभन्दा बढी पैसा डियू राख्न पाइँदैन अर्थात भुक्तान गरिहाल्नु पर्छ,’ डेपुटी प्रवन्ध निर्देशक भट्टराईले भने ‘८ किस्ता भइसक्यो पैसा भुक्तान गर्न सकिरहेको छैन । २३ अर्ब रुपैयाँको उधारो पेट्रोल ल्याएर हामीले खपत गरिरहेका छौ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स