लहान । बैंक तथा वित्तीय संस्थाहरूले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । ती संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र ‘लोडसेडिङ’ले समेत खासै असर नपर्ने भएपछि जिल्लामा त्यस्ता उद्योग दर्ता गराउने क्रम बढेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा एक हजार आठ सय ६५ नयाँ उद्योग दत्र्ता हुदाँ त्यसमा एक हजार २४३ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ । दर्ता भएको नयाँ कृषिजन्य उद्योगमा कृषि, पशुपक्षी र माछापालनसम्बन्धी एक हजार एक सय २०, पशुपालनसम्बन्धी ७१, माछापालनसम्बन्धी १२, दुग्धजन्य उद्योग १४ वटा दर्ता भएको कार्यालय प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए ।
यस्तै आव २०७८/७९ मा सेवामूलक उद्योग चार सय ७७, उत्पादनमूलक उद्योग एक सय ४५ वटा दर्ता भएको प्रमुख यादवले बताए । यससँगै सिरहामा कृषि तथा वनजन्य उद्योग चार हजार १३, उत्पादन उद्योग एक हजार सात सय ५७ र सेवा उद्योग चार हजार सात १५ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या १० हजार तीन सय १५ पुगेको प्रमुख यादवले जानकारी दिए ।
यस्तै आव २०७८/७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट एक करोड ८१ लाख ३३ हजार दुई सय ९८ राजस्व संकलन भएको जनाएको छ । गत आव २०७७/७८ मा एक हजार नौ सय १३ नयाँ उद्योग दर्ता भएको थियो । अघिल्लो आव २०७७/७८ मा पनि सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय २२, सेवा उद्योगतर्फ छ सय पाँच र उत्पादन उद्योगतर्फ एक सय ८६ उद्योग दर्ता भएको थियो ।
अघिल्लो आव २०७७/७८ मा कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरापालनका १७ वटा नयाँ उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ ।
जिल्लास्थित बैंक तथा वित्तीय संस्थाबाट कृषिजन्य उद्योगमा ऋण लगानी हुन थालेको र अन्य उद्योगभन्दा कृषिजन्य उद्योगलाई बढ्दो लोडसेडिङले खासै असर नपार्ने भएकाले कृषिजन्य उद्योगतर्फ स्थानीयवासी आकर्षित भएको प्रमुख यादवको भनाइ छ ।