काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावले ऋण प्रवाह नहुँदा अर्थतन्त्र ठप्प भएकोले मौद्रिक नीतिमार्फत् स्टिमुलस प्याकेज ल्याउनु पर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिडसँगै तरलता अभावको प्रभावले उद्योगहरू धेरै समस्यामा रहेको हुँदा यसलाई उकास्नको लागि स्टिमुलस प्याकेज आवश्यकता भएको उनको भनाइ छ । उनले मौद्रिक नीति हरेक वर्ष आए पनि यसपालीको विशेष भएको बताए ।
कोभिडसँगै तरलता अभावले साना तथा मझौला उद्योगहरू अझ बढी समस्यामा परेको उनले बताए । ‘साना तथा मझौला उद्योगमा सबैभन्दा धेरै समस्यामा छन्,’ उनले भने ‘कोभिड असारबाट बाहिर निस्किन नपाउँदै यी क्षेत्रका उद्योग व्यवसाय पुनः समस्यामा परेका हुन् ।’
तरलताको चुनौतीका कारण साना व्यवसायी साँच्चै अप्ठेरोमा रहेको भन्दै उनले व्यवसायीलाई राहत पुग्ने खालको मौद्रिक नीति आउनु पर्ने धारणा राखे । डलरको दर, पेट्रोलियमको बढ्दो मूल्य, ब्याज दरका कारण मूल्यवृद्धि माथि पुगेको भन्दै राष्ट्र बैंकबाट केही ’करेक्टिभ मिजर्स’ लिनुपर्ने उनले औल्याए ।
सीडी रेसियोको प्रवधानले गर्दा तरलतामा धेरै चाप परेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् तरलता व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय तहको निक्षेपलाई सीडी रेसियोमा गणना गर्न पाउने व्यवस्था गर्नु पर्ने उनको सुझाव छ ।
गोल्छाले उनले ब्याज दर निकै कमबाट माथि पुगेको भन्दै धान्न नसक्ने खालको भएको बताए । छ महिनामा ब्याज दर दोब्बर भएको भन्दै राष्ट्र बैंकबाट समयमा नै हस्तक्षेप भएको भए अवस्था यसरी नबिग्रने उनले गुनासो गरे ।
शोधनान्तर घाटा उच्च भएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए। उनले बैंकहरूले कायम गर्नुपर्ने तरलता अनुपात घटाउन सुझाव दिए। अनुत्पादक क्षेत्रमा जाने ऋणलाई रोक्दा राजस्व प्रभावित हुने भन्दै यसमा सन्तुलित नीति लिन गोल्छाले गभर्नर अधिकारीलाई सुझाव दिए ।
सेयर लगानीकर्ताले धेरै गुमाइसकेको बताउँदै उनीहरूलाई राहत पुग्ने नीति लिन पनि उनले आग्रह गरे । शतप्रतिशत मार्जिनलाई पुनर्विचार गर्नुपर्ने भन्दै यसबाट बैंकहरू मात्र लाभान्वित भएको उनले जिकिर गरे । कार्यक्रममा उनले घुमाउरो पाराले राष्ट्र बैंकले अरूको अधिकार खासेर काम गरेको संकेत गरे ।