काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ६ महिनामा बैंकको ब्याजदर दोब्बरले बढेर अर्थतन्त्रको कमजोर बनाए पनि बजेटले यो समस्या सम्बोधन गर्न चुकेको टिप्पणी गरेका छन् । राजस्व परामर्श समितिले आज सोमबार आयोजना गरेको बजेट पछिको छलफल कार्यक्रममा उनले ब्याजदर बढ्दा सम्पूर्ण आर्थिक क्षेत्रले गति लिन नसकेको बताए । अहिले कै अवस्था रहने हो भने बजेटपछि शोधनान्तर स्थिति अझै खस्किने स्थिति सिर्जना भएको उनको भनाइ छ ।
‘बजेटले ५० लाख डिम्याट होल्डर र १० लाख सक्रिय लगानीकर्ता रहेको सेयर बजारको समस्या बजेटले सम्बोधन गरेन उनले भने ‘हरेक सरकारको जस्तै अहिलेको बजेट पनि गठबन्धन सरकारको घोषणापत्र जस्तो मात्र देखिएको छ ।’ तै पनि गोल्छाले बजेटले निजी क्षेत्रका केही माग भने सम्बोधन गर्ने प्रयास गरेको बताए । उनले बजेटको व्यवस्थाले उद्योगीलाई प्रतिकूल प्रभाव परेको बताए ।
कृषि उत्पादन (धान, गहुँ, मकै) को उत्पादन बढाएर गत वर्ष ३० प्रतिशतले आयात घटाउने सरकारको योजना सुन्दा कर्णप्रिय तर कार्यावयन जटिल हुने गोल्छाको भनाइ छ । निर्यात दोब्बर र आयात २० प्रतिशत कम गर्ने लक्ष्य प्राप्तिमा शंका रहेको बताए उनले बजेटका व्यवस्था कार्यान्वयन गर्न विनियमावली र नीति बनाउँदैमा समय लाग्ने जिकिर गरे ।
उनले निर्यात उद्योगलाई विद्युत छुट दिने घोषणालाई स्वागतयोग्य माने पनि ठूला उद्योगलाई मात्रै यो सुविधाबाट लाभ हुने औल्याए । नयाँ व्यवस्थाले साना उद्योगलाई लाभ पुगेपनि ठूला उद्योग भने निरुत्साहित भएका छन् , छुट साना ठूला सबैलाई दिन जरूरी भएको उनले बताए ।
निजि क्षेत्र र सरकारको सम्वनय बिना देश विकास सम्भाव नहुने भन्दै गोल्छाले अन्तःशुल्क बढाउने सरकारको निर्णय अनुचित भएको र वायर हाउसको अन्तःशुल्क बढ्दा उद्योग नै बन्द हुन सक्ने बताए । तयारी सेनिटरी प्याडको कर घटाएर कच्चा पदार्थको भने कर बढाइएको गोल्छाले यसमा सरकार चुकेको बताए ।