इन्धन अभाव हुने र मूल्य बढ्ने आशंकाले पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप

काठमाडौं । काठमाडौं उपत्यकाका इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौं लाइनमा बसेर उनीहरु तेल हाल्न बाध्य भएका छन् ।

इन्धन अभाव हुने र मूल्य बढ्ने आशंकाले यसरी तेल हाल्न लाइनमा बसेका सर्वसाधारणले प्रतिक्रिया दिए ।

इन्धन ढुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखेर डिपोबाट तेल नउठाएको समाचार सार्वजनिक भएपछि तेल अभाव हुने आशङ्काले एक्कासि लाइन बढेको हो । ढुवानीकर्ताले भाडा समायोजनको माग गरेका जनाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले पहिले÷पहिले ग्यास अभाव हुने भयो भन्ने हल्लामा एकै जनाले चार÷पाँचवटा सिलिन्डर जम्मा गरेजस्तै देखिन लागेको उल्लेख गर्दै चाप बढेकाले शान्ति र सुरक्षालाई ध्यानमा राखेर पम्पहरुमा प्रहरी टोली नै खटाउनु परेको जानकारी दिए ।

अहिले आवश्यताभन्दा बढी तेल भर्न सर्वसाधारण लाइनमा बसेका छन् । कतिपय त ग्यालिनसमेत बोकेर पम्पमा आएका देखिए ।

दैनिक रुपमा हुने चापभन्दा बढी चाप परेकाले ठूलो लाइन लागेको पम्प सञ्चालकको भनाइ थियो । नेपाली प्रहरीको नक्साल, नेपाली सेनाको भद्रकाली, सशस्त्र प्रहरीको हलचोकको पम्पलगायत उपत्यकाका सबैजसोमा तेल लिन सर्वसाधारणको ठूलो भिड छ ।

शनिबार बन्द हुने पम्पमा समेत आज लामो लाइन छ । शुक्रबारदेखि नै यो समस्या देखिएको प्रहरीले जनाएको छ । कतिपय पम्पहरुले तेल छैन भनेर ब्यानर नै झुन्ड्याउन थालिसकेका छन् ।

शुक्रबार मात्रै इन्डियन आयल कर्पोरेशनले पनि इन्धनको मूल्य समायोजनसहितको सूची पठाएको थियो । आयल निगमका अनुसार ग्यास प्रतिसिलिन्डर २७३ रूपैयाँले र मट्टितेल प्रतिलिटर २२ रूपैयाँले बढेको छ भने पेट्रोल प्रतिलिटर १.४८ रूपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स