सरकार र निजी क्षेत्रको साझेदारी गोरखकाली रबर उद्योग सञ्चालन गर्न सकिनेः महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताएका छन् ।

शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको बीचमा साझेदारी गरी गोरखकाली रबर उद्योग लगायतका बन्द तथा घाटामा रहेका उद्योगहरु सञ्चालन गर्न सकिने बताए ।

‘यहाँ गोरखकाली रबर उद्योग सञ्चालनको कुरा उठेको छ । यस्ता उद्योगहरु धेरै बन्द अवस्थामा छन् । निजी क्षेत्र र सरकारबीच साझेदारी हुन सकेमा हामीले एउटा कन्सोर्टिएम बनाएर त्यस्ता उद्योगहरुमा लगानी गरी तिनीहरुलाई पुनः सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले पूँजीगत खर्च बढाउन बजेट खर्च गर्ने परम्परागत सरकारी तरिकामा परिवर्तन गर्न आवश्यक रहेको बताए । ढकालले सरकारी ढुकुटीमा खरबौ राजश्व जम्मा रहेको तर खर्च गर्ने पुरानो र परम्परागत शैलीका कारण खर्च बढ्न नसकेको बताए ।

‘अहिलेसम्म सरकारी ढुकुटीमा ४ खर्ब रुपैयाँभन्दा धेरै राजश्व संकलन भइसकेको छ । यो पौष मसान्तभित्र थप एक खर्ब रुपैयाँ राजश्व संकलन हुनेछ । तर राजश्व संकलन केन्द्रिकृत हुने र यसलाई खर्च गर्ने मेकानिजम् नहुनाले बजारमा तरलताको समस्या देखा परेको छ,’ उनले भने ।

गत पाँच महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको बताउँदै उहाँले यसमा निजी क्षेत्रको योगदान ठूलो रहेको बताए । ढकालले सबै व्यवसायीहरुले नाफामात्र नहेरेको बताउँदै उनीहरुले समाजप्रति उत्तरदायी भएर गरेको सेवा भावनालाई पनि सबैले सम्मान गर्नुपर्ने बताए ।

उनले मुलुकको राजश्वमा ठूलो योगदान रहेको निजी क्षेत्रलाई सरकारको मर्यादाक्रममा समेत नसमेटिएकोमा गुनासो गरे ।

‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढि योगदान निजी क्षेत्रको रहेको छ । सरकारी राजश्व संकलनमा पनि निजी क्षेत्रले सहयोग गरेको छ । त्यसैले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्दा सरकारलाई पनि सहयोग पुग्नेछ,’ उनले भने ।

बजार अनुगमनका नाममा व्यवसायीहरुले दुःख पाएको र त्यसलाई मर्यादित बनाउनुपर्ने उनले बताए । वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीयस्तरमा लगानीका सम्भावनाहरु भएमा महासंघको तर्फबाट तथा व्यक्तिगत साझेदारी गर्न आफू तयार रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स