काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
आज एक कार्यक्रमबीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्र (एमओयु) भएको हो । समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुंगटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्ताक्षर गरे ।
लगानी बोर्डको प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार सम्राट सिमेन्ट यसअघि उद्योग विभागमा दर्ता भएकामा लगानी वृद्धि पछि बोर्डमार्फत अघि बढ्नेछ । ‘सम्राटले यसअघि उद्योग विभागमा दर्ता भएर काम गरिरहेको थियो । छ अर्बभन्दा माथिको लगानी बोर्डमार्फत कार्यान्वयन हुनुपर्ने व्यवस्थाअनुसार यो कम्पनी बोर्डमा आएको हो’, उनले भने, ‘परियोजना कार्यान्वयनका लागि आज पहिलो चरणको एमओयु भएको छ । अब परियोजना विकास सम्झौता र लगानी सम्झौतालगायत प्रक्रिया बाँकी छन् ।’
यसअघि २०७७ असारमा बसेको लगानी बोर्डको ४४औं बैठकले सम्राट सिमेन्ट इन्डस्ट्रिज परियोजनाका लागि १५ अर्ब पाँच करोड बराबर लगानी स्वीकृति गर्ने निर्णय गरेको थियो ।