चिनी उत्पादन स्थानमै महँगिएको छ । गतहप्तासम्म ८६ रुपैयाँ प्रतिकेजी रहेकोमा अहिले चिनीको मूल्य चिनी उद्योगमै एक्कासी बढेको पाइएको हो ।
अहिले चिनी उद्योगमै ९१ रुपैयाँ प्रतिकेजी बनाइएको छ ।
यो समय नेपाली चिनी उत्पादनको हो । नेपालमा सबै उद्योगहरु चिनी उत्पादनमा लागिरहेका छन् । यहि समयमा उद्योगीले चिनीको आफ्नो मूल्य कायम गर्दै ९१ रुपैयाँ राखेका हुन् ।
यहि हप्तादेखि चिनीको मूल्य एक्कासी बढेको गुनासो आएपछि उद्योगीहरुलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत उद्योगीहरुलाई बोलाएर छलफल गरिसकेको छ ।
ठूला चिनी उद्योगी शशिकान्त अग्रवाल, राजकुमार अग्रवाल र हितेश गोल्छा लगायतलाई बोलाएको थियो ।
चिनी एक्कासी महँगिएको गुनासो आएपछि नै विभागले उद्योगीहरुलाई बोलाएको विभागका निर्देशक तथा प्रवक्ता डिक बहादुर कार्कीले जनाकारी दिए ।
उनले भने, ‘मूल्य बढेको गुनासो विभागमा आयो, त्यसपछि हामीले उद्योगीको लागत कति हो भन्ने विषयमा छलफल गर्यौ । त्यसपछि चाडवाडको समयमा अभाव हुने र महँगो हुने विषयहरु पनि उद्योगीलाई राख्यौ । उद्योगीले अहिले सबै कष्ट जोड्दा नै ९१ रुपैयाँ पर्न गाएको बताएका छन् ।’
विभागलाई नेपाली चिनी बजारमा आइपुग्दा नै १०५ रुपैयाँसम्म गर्न सक्ने उद्योगीले बताएका हुन् ।
विभागले चिनीको लागत, उत्पादन र भण्डारण क्षमताको लिखित विवरण दिन चिनी उद्योगहरुलाई भनेको छ । उद्योगीहरुले केहि दिनमै विवरण उपलब्ध गराउने भन्दै विभागमा बुधबार भएको छलफलबाट निस्केका हुन् ।
चिनी लागतकै विषयलाई लिएर चिनी उत्पादक संघले गत महिना पत्रकार सम्मेलन समेत गरेको थियो । जसमा विदेशबाट चिनी धेरै आइरहेकोले त्यसलाई रोक्न भनिएको थियो ।
त्यसलगत्तै उत्पादन सुरु भएको चिनीमा उद्योगीले मूल्य बढाएका हुन् ।
पत्रकार सम्मेलनमा उद्योगीहरुले गत क्रसिङ सिजनमा २ करोड ३८ हजार ७ सय ५५ क्विन्टल उखु क्रसिङ गरिएको जानकारी दिदैं गत क्रसिङ सिजनमा १ लाख ७८ हजार ७ सय १७ मेट्रिक टन चिनी उत्पादन भएको गराएको थियो ।
चालु क्रसिङ सिजन २०८१।८२ मा २ लाख २० हजार मेट्रिक टन चिनी उत्पादन हुने संघले अनुमान गरेको छ ।
नेपालमा साना उद्योगीहरु र ठूला उद्योगहरु समावेश छन् । उनीहरुले ठूला उद्योगीहरुले भर्खरै मात्रै उत्पादन सुरु गरेका छन्, तर साना उद्योगीहरुले भने करिव १ महिनादेखि चिनी उत्पादन गरिरहेका छन् ।
साना उद्योगीहरुले प्रतिकेजी उद्योगबाट ८६ रुपैयाँ प्रतिकेजी बिक्रि गरिरहँदा ठूला उद्योगीको ‘प्रोडक्ट’ आउने वित्तिकै प्रतिकेजी ५ रुपैयाँ वृद्धि भएको छ । यसले भने उद्योगीप्रति प्रश्न गर्ने वातावरण सिर्जना भएको हो ।