काठमाडौं । नवलपरासी (बर्दघाट पश्चिम)को सीडीओ स्किम श्रेष्ठ छिन् । उनी सीडीओ भएपछि अनाधिकृत व्यापारमा निगरानी अपनाएकी छन् । सीमा नाकाबाट हुने तस्करीलाई उनले निकै नियन्त्रणमा राख्न थालेकी छन् ।
यस जिल्लाको सीमा नाका भारतीय र नेपाली व्यापारीहरुले निकै चलखेल गर्ने ठाउँ हो ।
भन्सार बाहिरबाट वस्तु आयात निर्यात गर्नुपरेमा यहि ईलाका प्रयोग हुँदै आइरहेको थियो । तर उनले अहिले पूर्ण रुपले बन्द गरिदिएकी छन् ।
नेपालमा भन्सार अधिक रहेको वस्तु भारतबाट तस्करी भएर अर्थात् भन्सार बाहिरबाट आउँछ । त्यस्तै भारतमा भन्सार महँगो र प्रतिबन्ध लगाइएको वस्तु तेस्रो मुलुकबाट नेपाल आउँछ र भन्सार बाहिरबाट भारत जान्छ ।
त्यस्तो व्यापार नवलपरासीको सीमावर्ती क्षेत्र धेरै प्रयोग हुँदै आएको छ ।
पछिल्लो समय नेपालबाट यसरी धेरै जान थालेको वस्तु हो लसुन र मकै । भारतमा धेरै माग भैरहेको लसुन नेपालमा चीनबाट आइरहेको छ ।
त्यस्तै अर्जेन्टिना , टर्की , ब्राजिल, दक्षिण अफ्रिकाबाट मकै धेरै आयात भैरहेको छ ।
यसरी आयात भएको लसुन र मकै थोरै मात्रामा नेपालमा पनि खपत हुन्छ भने अधिक मात्रामा भारतमा पुर्याइने गरेको छ ।
चालू आर्थिक वर्षको ५ महिनाको अवधीमा चीनबाट ५ अर्ब ३६ करोड रुपैयाँको लसुन आयात भएको छ । त्यस्तै ६ अर्ब रुपैयाँ बराबरको मकै नेपालमा आयात भएको छ ।
त्यसमा पमकर्नमा प्रयोग हुने अर्थात् भुटेर खाने मकैको भने नेपालबाट भारत तस्करी हुँदै आएको छ ।
त्यो मकै निर्यात भन्सार प्रणाली भन्दा बाहिरबाट गर्न लागिएको थियो । जसको जिम्मेवार पक्ष भन्सार निकाय भन्दा पनि प्रशासन नै हुन्छ ।
अहिले नयाँ आएकी सीडीओ स्किम श्रेष्ठले निकै निगरानी राखेकी छन् ।
भन्सार बाहिरबाट लसुन र मकै पठाउन तयार रहेका व्यापारीहरुको अहिले ती वस्तु गोदाममै कुहिने अवस्थामा पुगेको हो ।
भारतमा ज्यादै माग छ, नेपालमा आयात समेत गरिसकिएको अवस्था छ । तर वस्तु पठाउन भने सकिएको छैन ।
यसरी वस्तु पठाउन सीडीओ श्रेष्ठले कडाइ गरेपछि व्यपारीहरु गोदाममा वस्तु थुपारेर भागाभाग गर्न थालेका छन् ।
कसरी पठाइन्छ त भारत ?
भारत पठाउने वस्तु आयात गर्ने व्यापारीहरु प्रत्यक्ष सहभागी हुँदैनन् । नेपाल र भारतका दुईतर्फि एजेन्टको सहभागीतामा वस्तु ओसार पोसार हुनेगर्छ । त्यसमा प्रहरी प्रशासनले अन्देखा गर्ने गरि व्यवस्थापन मिलाइन्छ । तर अहिले भने प्रहरीले निगरानी राखिदिदा व्यापारीले वस्तु नै पठाउन नसकेको स्रोतले जानकारी दिएको छ ।