बीमा भुक्तानी नपाउँदा नेबिको बिस्कुटको लगानी प्रभावित, हेटौंडाको प्लान्ट जडान कार्य ढिला हुने

काठमाडौं । नेबिको बिस्कुटको बालाजु प्लान्टमा आगजानी भएको ३ महिना बित्दा पनि बीमा कम्पनीबाट कुनै किसिमको राहत नपाउँदा हेटौडामा नयाँ प्लान्ट जडान कार्य ढिला हुने भएको छ । नेबिका बिस्कुटले बीमा गराएको कम्पनी सानिमा जनरल इन्स्योरेन्स दावी भुक्तानी प्रक्रिया चुस्त र छिटो नहुँदा यसको असर नेबिको बिस्कुट कम्पनीको हेटौंडामा स्थापना गर्न लागिएको नयाँ प्लान्टमा परेको हो ।

नेबिको बिस्कुटले काठमाडौंको बालाजु प्लान्टमा आगलागी हुनुभन्दा पहिलानै हेटौंडामा अर्को प्लान्ट जाडन गरेर बि.सं. २०८० सम्म साढे दुई अर्बको व्यापार पुर्याउने लक्ष्यसहित व्यावसायिक प्लान बनाएको थियो ।

बालाजुको प्लान्टमा आगो लाग्दा हाल कम्पनी कुल क्षमताको आधामात्र उत्पादन गर्न सक्ने अवस्थामा छ । काठमाडौंमा रहेको प्लान्टबाट केही उत्पादन बढाउन सकिने भएपनि उत्पादित वस्तु कुलिङ (चिसो) गर्ने ठाउँको अभाव हुँदा पूर्ण क्षमतामा बिस्कुट उत्पादन गर्न सकिने अवस्था नरहेको नेबिको बिस्कुटका ब्रान्ड म्यानेजर अरुण पौडेलले बताए ।

बालाजु प्लान्ट दैनिक २४ घण्टा सञ्चालन गर्दा पनि करिब १५ टन उत्पादन भइरहेको छ भने भैरहवाबाट दैनिक ८ देखि १० टन उत्पादन भइरहेको छ । बालाजु प्लान्टमा आगो लाग्नुअघि भैरहवाबाट बिस्कुटलगायत अन्य गरी दैनिक ५ टन उत्पादन हुने गरेको थियो भने बालाजु प्लान्टबाट दैनिक २० टन उत्पादन हुुन्थ्यो । नेबिकोले आफ्नो बजार मागको ६६ प्रतिशत बालाजुको यही पुरानो कारखानाबाटै धान्दै आएको थियो ।

बालाजुको उत्पादन प्रभावित हुँदा एकातिर बजार धान्न मुस्किल परेको छ भने अर्कोतिर कम्पनीले निर्धाणर गरेको लक्ष्य पुरा गर्न २ वर्ष पछाडि धकेलिने भएको छ । लागनी अभावका कारण नयाँ प्लान्ट जडान गर्न नपाउँदा र पुरानो प्लान्टमा पनि कुलिनको व्यवस्थापन नमिल्दा अहिले कम्पनीले मासिक करोडको नोक्सान व्यहोरिरहेको छ ।

कन्फेक्सनरी, बिस्कुट र कुकिज उत्पादन प्लान्ट, प्याकेजिङ मेशिनहरु, कच्चा पदार्थहरु र तयारी उत्पादन मौज्दात राखिएको गोदाममा आगो लाग्र्दा भवन र अन्य संरचनाहरु समेतमा ठूलो क्षति पुगेको पौडेलको भनाइ छ । ‘कम्पनीको ५० करोड रुपैयाँ हाराहारीको सामान तथा संरचनामा क्षति पुगेको छ,’ उनले भने ‘सामान नै थियो ८ देखि १० करोड रुपैयाँको त ।’

‘यदि आगलागी नभएको भए मासिक २० करोड रुपैयाँको कारोबार हुन्थ्यो,’ ब्रान्ड म्यानेजर पौडेलले भने ‘बीमा कम्पनीले राहत स्वरुप हाम्रो दावी केही प्रतिशतमात्रै रकम भुक्तान गरिदिएको भएपनि हामीलाई ठूलो राहत मिल्ने थियो ।’ बीमा पैसा साता/ १० दिन मै रिलिज भएमा ढिलो पनि वैशाखसम्म हेटौंडाको प्लान्ट सञ्चालनमा आउन सक्ने उनले बताए ।

के भन्छ इन्स्योरेन्स कम्पनी ?

नेबिको बिस्कुटले सानिमा जनरल इन्स्योरेन्स कम्पनीसँग २६ करोड रुपैयाँको बीमा गरेको छ । त्यसको आधामात्रै रकम भुक्तानी भएपनि कम्पनीलाई अहिले ठूलो राहत मिल्ने नेबिकोको भनाइ छ । यद्यपि नेबिको बिस्कुटको बिमित कम्पनी सानिमा जनरल इन्स्योेरेन्स भने उक्त कम्पनीको बीमा दावी भुक्तानीको लागि पेश गर्नुपर्ने डकुमेन्ट नै पुरा नआइसकेको बताएको छ ।

सानिमा जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक प्रविणकुमार कोइरालाले कम्पनीका तर्फबाट आउनु पर्ने जति डकुमेण्ट नै आइ नपुगेको बताए । ‘डकुमेन्ट पुरा भएको छैन,’ उनले भने ‘हामीले आगलागी हुने वित्तिकै सर्भेयरलाई खटाएका छौं, फाइनान्सियल रिपोट अझै आएको छैन ।’ फाइनल रिपोटको आधारमा हामी कम्पनीको पैसा भुक्तानी गछौं ।’

२ वर्षमा साढे २ अर्बको व्यापार गर्ने नेबिको योजना

नेपाली बिस्कुट बजारमा इतिहास बोकेको नेपालकै पहिलो नेबिको बिस्कुट उद्योगले अबको १ वर्षमा थप १ अर्ब लगानी थप्ने भएको छ । कम्पनीले विभिन्न स्थानमा विस्कुटलगायतमा अन्य उत्पादनको प्लान्ट स्थापना गर्न तथा मिनरल वाटर उद्योग सञ्चालन गर्नको लागि थप लगानी गर्ने योजना बनाएको हो । कम्पनीले सो लगानीसहित आफ्नो व्यापारलाई पनिपुबढाएर वार्षिक साढे २ अर्ब पुर्याउने योजना बनाएको छ ।

२०२१ सालमा स्थापना भएको यस कम्पनीले विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थामा आइपुगको हो । नेबिकोले बिस्कुटका ५०, कन्फेक्सनरी र कुकिजका सात, अन्य ब्रेकफास्ट सेरल्सका करिब आधा दर्जन ब्रान्ड गरी ७० प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादनलाई देशका ७७ वटै जिल्लामा पुर्याउन १२० थोक बिक्रेता सञ्जाल छन् ।

पानी उत्पादन गर्दै नेबिको

नेबिको बिस्कुटले आफ्नो सिष्टर कम्पनी खोलेर दाङबाट पानी उत्पादन गर्ने भएको छ । कम्पनीले ‘राम्री फूड एण्ड वेभरेज’ कम्पनी खोलेर मिनरल वाटर उत्पादन गर्न लागेको हो । महिनामा साढे १ करोड रुपैयाँ बराबरको मिनलर वाटर काठमाडौंको बजारमा ल्याएर बिक्री गर्ने गरि कम्पनीले उक्त सिष्टर कम्पनी स्थापना गरेको हो ।

हाल सो कम्पनीबाट उत्पादित पानीको ट्रयाल भइरहेको पनि ब्रान्ड म्यानेजर पौडेलले जानकारी दिए । ‘ काठमाडौंमा हामीले प्रिमियम वाटर ल्याउन खोजेका हौ ।’ यसका साथै कम्पनीले खाद्यान्न पनि उत्पादन गर्ने योजना बनाएको छ । विशेष गरी मैदा उत्पादनमा लाग्ने योजना कम्पनीको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स