वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पुष्टि भएको छ ।
कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिए ।
कोरोना पोजिटिभ देखिएका कैदीलाई कारागारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ । साथै कोरोना नभएका कैदीलाई तल्लोतलामा व्यवस्थापन गरिएको पाण्डेले बताए ।
कारागारमा रहेका अधिकांश कैदीलाई कोरोना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजिटिभ देखिएको छ । भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजिटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजिटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताए ।