काठमाडौं । सरकारले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा असोज ४ आजदेखि असोज १४ गतेसम्म दिने भएको छ ।
यसका लागि सरकारले जिल्लाअनुसार चारवटा उमेर समूह छुट्ट्याइ खोप दिने प्रबन्ध मिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिइनेछ ।
त्यसैगरि, काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ ।
काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ ।
यीबाहेक अरू ५८ जिल्लाहरूमा मनाङ, मुस्ताङ र रुकुमपूवबाहेकका जिल्लाहरूमा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यी उमेर समूहबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटेल व्यवसायमा काम गर्ने व्यक्तिहरूलाई समेत खोप दिइने मन्त्रालयले जनाएको छ ।
सरकारले आजैदेखि पहिलो डो.ज खोप लगाएर बसेकालाई पनि दोस्रो डोज खोप लगाउने भएको छ ।
सरकारले चीनबाट पछिल्लो समय ६० लाख डोज खोप ल्याएको छ ।