चीनमा पुनः फैलिन थाल्यो कोरोना संक्रमण, नेपालको अवस्था कस्तो?

काठमाडौं । चीनमा पुनः कोरोना फैलन शुरु भएको छ । कोरोना महामारीविरुद्ध ‘शून्य सहनशीलता नीति’ अख्तियार गर्दै आएको चीनले डिसेम्बर ८ देखि सावधानी अपनाउन थालेको छ ।

पश्चिमी चीनको उरुम्चीस्थित एउटा अपार्टमेन्टमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएपछि स्थानीयले शुन्य कोभिड नीतिको विरोधमा प्रमुख सहरहरूमा प्रदर्शन गरेका थिए । भाइरससम्बन्धी कडा प्रतिवन्धका कारण उनीहरूको ज्यान गएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

चीनमा पछिल्लो दुई सातायता नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ को संक्रमण फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनका अस्पतालहरू संक्रमितले भरिन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

चीनका साथै नेपालको छिमेकी मुलुक भारतको दिल्लीमा मास्क अनिवार्य गर्ने तयारी शुरु भएको छ । नयाँदिल्लीमा गत अक्टोबर महीनाको पहिलो साताबाट मास्क लगाउनु नपर्ने नीति अवलम्बन गरिएको थियो । तर चीनमा एकाएक संक्रमणदर बढेपछि दिल्लीमा पुनः मास्क अनिवार्य लगाउनुपर्ने नियम ल्याउन लागिएको छ ।

चीनमा कोरोना संक्रमण बढ्दै गएपछि भारतले पनि सतर्कता अपनाउने तयारी गरेको हो । सरकारले हालैमात्र कांग्रेसका नेता राहुल गान्धीलाई ‘भारत जोडो यात्रा’ रोक्न आग्रह गरेको छ । स्वास्थ्यमन्त्री मनसुख मान्डवियाले बिहीवार लोकसभामा बोल्दै कोरोना महामारी बढ्न लागेको भन्दै पुनः तर्साउन थालेकाले सतर्कता अपनाउन भनेका छन् ।

भारतमा पछिल्लो एक वर्षमा कोरोना संक्रमितको संख्या भने निकै घटेको छ । भारतमा हाल औसतमा संक्रमण दर दैनिक १५३ जना छ । चीन, भारतमात्र नभई जापान, दक्षिण कोरिया, अमेरिका, फ्रान्सलगायतका देशमा पनि पछिल्लो समय संक्रमण दर बढेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चीनमा एकाएक संक्रमणदर बढेको खबरपछि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल कोरोनाविरुद्धको खोप लगाउन पुग्नेहरूको संख्या बढ्दै गएको छ । दैनिक १०–१५ जनाले लगाउने गरेकोमा आजभोलि दैनिक १०० जना पुग्ने गरेका छन् । सूचना अधिकारी नवराज गौतमका अनुसार चीनमा फैलिएको खबर सार्वजनिक भएसँगै खोप लगाउनको संख्या वृद्धि भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स