कोभिड-१९ सँग मिल्दोजुल्दो ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै, के हो ‘स्क्रब टाइफस’ ? यसबाट बच्ने उपाय

बैतडी । पछिल्लो समय यहाँ ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, ‘वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म २२ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ ।’

जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ । त्यसमध्ये पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताए ।

जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा हाल दैनिक १०० बिरामी उपचारका लागि आउने गरेकामा ५० जना भाइरल ज्वरोका आउने गरेका जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए । ‘अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेको छ’, उनले भने, ‘केही स्क्रब टाइफसका बिरामीलाई अस्पताल भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ ।’

वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका अस्पतालका प्रमुख डा. जोशीले बताए । उनले भने, ‘पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ, स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौं ।’

कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

यसैबीच नेपाल सरकारले केही दिनअघि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा रोग स्क्रब टाइफस देखिन थालेकाले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेको छ ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी तथा मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीं कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीं बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ ।

के हो ‘स्क्रब टाइफस’ ?

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने गर्दछ । यसको समयमा नै उपचार नगरे यसले गम्भीररुप लिनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

बच्ने उपाय

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स