काठमाडौं । ५ वर्ष मुनिका बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सो दिन भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको हो ।
कात्तिक २ र ३ गते ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ भने १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने महाशाखाले जनाएको छ ।
महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।