काठमाडौं । एसिड आक्रमण पीडितको निःशुल्क उपचारका लागि सरकारले १७ वटा अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताललाई पत्राचार गर्दैै निःशुल्क उपचार व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
संघीय संसद्का कानुन, न्याय तथा मानवअधिकार र महिला तथा सामाजिक समितिले १९ साउनमा एसिडपीडितको निःशुल्क उपचार व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो । २६ साउनमा प्रधानमन्त्री कार्यालयले मन्त्रालयलाई उनीहरूको निःशुल्क उपचार व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कान्ति बाल, परोपकार प्रसूति तथा स्त्रीरोग, शुक्रराज ट्रपिकल तथा सरुवा रोग र पाटन मानसिक अस्पतालमा निःशुल्क उपचार व्यवस्था मिलाइएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उनीहरूको उपचार हुनेछ ।
यसैगरी, कोसी, नारायणी, भरतपुर, डडेल्धुरा, भेरी र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा पनि एसिडपीडितले निःशुल्क उपचार सुविधा पाउने भएका छन् । आक्रमणमा परेका व्यक्तिलाई ती अस्पतालमा उपचार र औषधिको शुल्क नलाग्ने प्रवक्ता गौतमले बताएका हुन् ।
पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिनसक्ने व्यवस्थासमेत गरिएको छ । सरकारले एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८ पारित गरेको छ ।
एसिड पीडितको उपचारको लागि ३० लेखि ३५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।